बाबु कृष्ण रंजित (Babu Krishna Ranjit)

मध्यपुर थिमी ताहाननी टोलमा बि.सं २०२३ साल कार्तिक महिनामा बुबा मंगल बहादुर रंजितकार र आमा कृष्ण माया रंजितकारको कान्छो छोराको रुपमा श्री बाबु कृष्ण रंजितकारले जन्म लिनु भएको थियो । दुई दाजु, एक दिदीको भाइ र एक बहिनीको दाजुको रुपमा जन्मनु भएका बाबु कृष्ण रंजित पढाइ लेखाईमा एकदम होनहार विद्यार्थी थिए । आदर्श माध्यमिक विद्यालयबाट बि.सं २०४० सालमा एस.एल.सी परीक्षा प्रथम श्रेणीमा उतिर्ण भएका थिए । SLC पश्चात् स्वास्थ्य क्षेत्रमा Health Assistant (HA) पढ्ने चाहना भएपनि घरको आर्थिक संकटका कारण उच्च शिक्षाको लागि रत्न राज्य क्याम्पसमा नेपाली र अर्थशास्त्र बिषय लिएर अध्ययन गर्नु भयो । क्याम्पस जाने क्रममा मध्यपुर थिमी निवासी श्री गायत्री श्रेष्ठ (Gayatri Shrestha) संग चिनजान हुन पुगियो र बि.सं २०४१ सालमा वैवाहिक जीवनमा बाँधिनु भयो । त्यसै बर्ष नेपाल दुरसंचार संस्थानले जागिरको लागि कर्मचारी आवश्यकता माग हुन्दा उहाँ पनि छनौट हुनु भएका थिए । ९ महिनाको तालिम लिएपछि सरकारी जागिर पाउने पक्कापकि थियो । मासिक रु ३०० भत्ता लिई ३ महिना सम्म तालिम लिनु भयो । तर भाग्यको खेलले दिशा अन्तै मोदियो । दैनिक जान आउन, खाजा तथा अन्य खर्चको लागि परिवारबाट कुनै आर्थिक सहयोग नपाएपछि उक्त तालिमबाट बन्चित हुनु पर्यो । २०४२ सालमा उच्च शिक्षाका लागि त्रिचन्द्र क्याम्पसमा स्नातक तहमा भर्ना हुनु भयो । वैवाहिक जीवनमा बाँधिएपछि जीवन यापन गर्न निकै सकस भए पश्चात् जीविकोपार्जनका निमित्त शिक्षण पेशा रोज्नु भएका रंजितकारले २०४२ सालमा बिनायक ईङलिस स्कुलमा पढाउन सुरु गर्नु भयो । यसै बर्ष त्यस बिद्यालयमा एक सुस्त मनस्थिति र अर्को बहिरा विद्यार्थी पनि भर्ना भएका थिए । २०४३ तिर आन्तरिक समस्याका कारण उक्त बिद्यालयले निरन्तरता दिन नसकेपछि बिद्यालय बन्द भएपछि उहाँ बिचारको भुमरी पर्न पुगे । अन्तमा ती दुई बालबालिकाहरुको बारे सोचेर अरुको शिक्षण पेशा भन्दा पनि चुनौती पुर्ण शिक्षण पेशा रोज्नु भयो । घरमा एक अपाङ्ग बालबालिका जन्मियो भने निकै अप्ठ्यारो परिस्थितीको सृजना हुने गर्दछ । तर उहाँले त्यस्तै अपाङ्ग बालबालिकाहरुलाई पढाउने पेशा रोज्नु भयो । उहाँले अपाङ्ग बालबालिकाहरुको लागि छुट्टै विद्यालय खोल्न बिभिन्न निकायहरुमा धाउन थाले । तब नक्सालस्थित शिक्षा मन्त्रायलबाट कम्तीमा १० विद्यार्थी भए विद्यालयको स्वीकृति दिने भने पछि अपाङ्ग बालबालिकाहरुको खोजी कार्य भयो । १५ जना विद्यार्थी भएपछि तत्कालीन शिक्षा मन्त्री परशु नारायण चौधरीले बि.सं २०४४ सालमा २ शिक्षक र १ आया दिदी सहित विद्यालय स्वीकृति दियो र उहाँले प्रधानाध्यापक पद सम्हानु भयो । त्यस समय उहाँको तलब ७६५ रुपैया थियो । सध्य बालबालिकाहरु लाई पढाउनु नै निकै चुनौती महसुस गर्ने हाम्रो समाजमा अपाङ्ग बालबालिकालाई पढाउनु भनेको महाभारत रच्नु भन्दा कम चाहिँ थिएन । विद्यालय भवन नहुदा शारीरिक रुपमा असक्षम विद्यार्थीहरुलाई लिइ घरी जिस्वं वहा, गार्चा टोल त घरी ताहननीमा डेराका कोठाहरुमा पढाउनु भयो । यसरी बिद्यालय संचालन गर्दा दीर्घकालीन हुन सक्दैन भनेर बिचार गरि विभिन्न स्थानिय एवं सरकारी निकायहरुमा हारगुहार गर्नु भयो । यसै क्रममा शिक्षा मन्त्रालयको सहयोगमा सिद्धिकाली परिसरमा जग्गा प्राप्त गर्नु भयो । सन २००० मा Service Civil International नामक INGO साँखुमा पुल बनाउने र बाबु कृष्ण रंजितकार ज्युलाई भेट्ने भनेर SCI Japan भन्ने संस्था नेपालमा आउँदा उहाँको प्रस्तुतीबाट प्रभावित भएर २ कोठाको एक तल्ले घर निर्माण गरि दिए । पछि स्थानिय सहयोगमा अर्को एक कोठा थप गर्नु भयो । उहाँबाट जापानीहरु यति प्रभावित हुनु भयो कि सन २००४ मा विद्यालयको माथिल्लो तल्ला र सन २००६ मा कम्पाउण्ड बनाई दिए । २०४५ साल देखि Curriculum Daily Skill (ADS) अन्तर्गत यो विद्यालय संचालन भईरहेको छ । हाल थिमी बाहेक रामेछाप, सिन्धुली, दोलखा, धरान लगायत विभिन्न जिल्लाबाट यहाँ अध्ययनका लागि विद्यार्थीहरु आउने गर्दछ ।
लेख: GR Ranjit


