कागेष्टमी /कायष्टमी (Kagestami)
भाद्र शुक्ल अष्टमी (ञलाथ्व अष्टमी) को दिनलाई कागेष्टमी वा कायष्टमी भनिन्छ । यसदिन काठमाण्डौको उत्तर पुर्वमा अवस्थित कागेश्वरी मन्दिरमा मेला लाग्ने गर्दछ । झरनाको मनोरम दृश्यले भरिपुर्ण यस क्षेत्रमा कागेश्वरी महादेव अवस्थित रहेको छ । महादेवसंगै सानो कागको प्रतिमा पनि रहेको छ भने झरनासंगै ठूलो कागको प्रतिमा रहेको छ । अन्य चराहरुलाई मनिसहरुले पालेपनी संचारको बाहकको रुपमा लिने कागलाई भने पाल्ने गरिन्दैन । कागको स्पर्शलाई पनि दशा दोष लाग्ने मान्यता रहेको यस समाजमा कागेष्टमीको अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमाकागको स्पर्शबाट मुक्त भइने विश्वास रहेको छ । यसैले वर्षदिनसम्म कागले स्पर्श गरेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास रहेको छ । श्रावण शुक्ल पूर्णिमा अथवा गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जनधारणा रहेको छ । यसरी गोसाइँकुण्डको जल चढाउनेहरुमा भक्तपुरबासीहरुको संख्या अधिक हुने गर्दछ । कागेश्वरीको दर्शन पछि चांगुनारायणको पनि दर्शन गर्ने गर्दछ ।
लेख: GR Ranjit


