नयार देखि नेवार सम्म
(from Nayar to Newar)
इतिहासकार शिवराज श्रेष्ठ ‘मल्ल’ ले सुनेको भनाइ अनुसार ‘चन्द्रभागा नदी किनारको बाह्रमल्लारका अम्बल (क्षेत्र) मा नयाँ देश छ । त्यही नयाँ देशबाट नेवारहरू आएका हुन् ।’ यस भनाईमा बताइएको चन्द्रभागा नदि गढवाल र हिमाञ्चल प्रदेशमा रहेको चन्द्र नदि र भागा नदि टाँडी क्षेत्रमा मिसिएर बनेको नदि हो । हालको चेनाव नदि नै चन्द्रभागा नदि हो । यस क्षेत्रमा नयार भन्ने ठाउँ रहेको छ । नयार भित्र बाह्रस्यूँ क्षेत्र र शकहरूको मल्लारी (पुरातात्विक महत्वको) क्षेत्र पनि रहेको छ । यसै स्थानबाट आएका ब्यक्तिहरु नै काठमाण्डौ आएर नेवार भएका थिए । काठमाण्डौ उपत्यकालाई नै नेवार समुदायको मुल थलो मानिन्छ । शिवराज श्रेष्ठ ‘मल्ल’का अनुसार, ‘नेपाललाई एकीकृत गराउने कुनै समुदाय छ भने त्यो नेवार समुदाय हो । गोपालवंशीहरू आए र नेवारकै ज्यापु समुदायमा मिसिए । सुनकोशी र तामाकोशीबाट किराँतहरू पनि आए । किराँती भाषा र नयारहरुको भाषा मिसिएर नयाँ भाषा बने जसलाई नेपाल भाषा भनिन थाले । वैशालीबाट आएका लिच्छविहरू, उज्जैनका मल्ल र मध्ययुगका खसहरु पनि नेवारमा मिसिएको छ । यहाँको नेवार समाज कस्तो रह्यो भने जो–जति पनि यहाँ आएका थिए, ती सबैलाई आफूमा समाहित गराइदै आफूजस्तै बनाइयो । यसरी यहि हो नेवार भनेर ठम्याउन कथिन भएको हुन्दा नेपाल भाषा बोल्ने र नेपाल उपत्यकामा विकास भएको संस्कृति र सभ्यतालाई अंगिकार गर्ने सबै नेवारमा रूपान्तरित भएका थिए । जसको भाषा र संस्कृति मिल्यो, त्यो नै नेवार हो ।

एघारौं शताब्दीमा मिथिलाको राजधानी सिमरौनगढ बनाउने नान्यदेव त्यही नयार देशबाट आएको थियो । नान्यदेवका पुर्खा सम्भवतः महाभारत युद्धपछि अयोध्याबाट दक्षिणी राजस्थान र उत्तरपूर्वी महाराष्ट्र हुँदै दक्षिण पश्चिममा पर्ने कोकण देशमा बसेको देखिन्छ । बम्बईबाट दक्षिणमा पर्ने कोकण भन्ने ठाउँलाई नै अहिले कर्नाटक भनिन्छ। त्यहाँ सूर्यवंशीहरू छन् । कतिले आफूलाई रघुवंशी अर्थात् रामकै सन्तान पनि भन्छन् । त्यही ठाउँबाट उनीहरू हिमाञ्चलमा रहेको नयाँ देश पुगे, जसलाई नयार भनिन्छ । यस राज्यका एक नागरिक शक्तिसिंहदेवका दुई छोराहरु थिए – नान्यदेव र श्यामसिंहदेव । श्यामसिंहदेव नयार मै बस्थे भने नान्यदेव २०–२१ वर्षको उमेरमा दिल्लीका राजाकहाँ काम गर्न बसे । दिल्ली त्यति बेलाको इन्द्रप्रस्थ हो । नान्यदेव दिल्लीमा काम गरिरहेकै बेला उनका आमाबुवा र श्रीमतीको मृत्यु भयो । उनी निराश भएर अयोध्या गए । त्यही क्रममा उनले कुलदेवी तुलजा भवानी अनि गाडेर राखेको धन भेटेको भनिन्छ । त्यही धनबाट उनले विशाल गढ भएको राजधानी सिमरौनगढ बनाएको भन्ने भनाइ छ । नान्यदेवका दुई छोरा थिए– मल्लदेव र गांगदेव । नान्यदेवले गांगदेवलाई सिमरौनगढको गद्दीमा राखे । मल्लदेवलाई भने मिथिलाको उत्तरपूर्वी क्षेत्रको राजा बनाए । मल्लदेवको राज्य सिन्धुली–दोलखा–पलाञ्चोकसम्म फैलिएको हुनसक्छ । गांगादेव पछि क्रमश नृसिंहदेव, शक्तिदेव, रामसिंहदेव, र हरिसिंहदेवले शासन गरेका थिए । सिमरौनगढका अन्तिम राजा हरिसिंहदेव दिल्लीका बादशाह गयासुद्दिन तुगलकको आक्रमणबाट भाग्दै सहायता माग्न सुरूमा दोलखा गएका थिए भन्ने कुराले पनि यही संकेत गर्छ कि त्यहाँ कोही आफन्त भएरै उनी गएका होलान् । उनको बाटैमा निधन भयो । त्यसपछि उनकी रानी देवलदेवी, छोरा जगतसिंह देव, आफूसँगै आएका भाइभारदार र सिमरौनगढका केही जनतालाई लिएर नेपाल उपत्यका आइन् । उनिसंग आएका जनताहरुमा सिंह, प्रजापती, मुनंकर्मी, राठौर, कायस्थ, राजपुत, क्षत्रीय र ब्राह्मण (छ थरे शैवमार्गी नेवारहरू) आदि थिए । पछि यिनीहरु सबैपनि नेवार भए । त्यस्तै मदेशबाट ल्याएका कालिगडहरु शिल्पकार, रंजितकार, चित्रकार, ताम्राकार, आदि कार थपेकाहरु पनि नेवारमा समाहित हुन पुगे । रोगको निवारण गर्न ल्याएका वैद्य, जोशी, आदि थरका मानिसहरु पनि नेवार बन्न पुगे । तिब्बतबाट नेपाल उपत्यका प्रवेश गरेका केही मंगोल जातिका बौद्ध धर्मालम्बीहरू पनि नेवार समुदायमा रूपान्तरित भएका थिए । त्यस्तै नेपाल भाषालाई आफ्नो मातृभाषाको रूपमा अंगिकार गरेका मुसलमान र क्रिस्चियनहरू पनि नेवार भएका थिए।
‘इसा पूर्वको एक हजार वर्ष र इसापछिको एक हजार वर्षभित्र पूर्व–पश्चिम, दक्षिण–पश्चिमबाट आएका तिब्बती बर्मेली र आर्य भाषाभाषीको समिश्रणबाट एउटा नयाँ समुदायको जन्म भयो । दोस्रो सह्रशताब्दीको आसपासमा यसको स्पष्ट पहिचान हुन थाल्यो र संस्कृति, सभ्यता, कला, नेपाल सम्बत, नेपाल भाषा, नेपाल लिपि लगायत विकास भयो । यसरी जन्मिएको समुदायलाई नेपाल शब्दको प्राकृत रूप नेपाल/नेबाल भनियो र पछि नेवार भन्न थालियो । नेपाल मण्डल मूलतः यही समुदायको आदिभूमि हो ।
लेख: GR Ranjit
स्रोत: Sabina Shrestha, मिथिलाका कर्नाटवंशीहरू र नेपाल मण्डलमा उनीहरूको प्रभाव (भाग–१)


