राजा भूपतिन्द्र मल्ल (King Bhupatindra Malla)
राजा यक्ष मल्लको शासनकाल पछि बिभाजित स्वतन्त्र राज्य भक्तपुरका तेजस्वी राजाहरु मध्य एक राजा भूपतिन्द्र मल्ल हुन । सन १६७४ मा राजा जितामित्र मल्ल र रानी लालमती देवीका पहिलो सन्तानको रुपमा राजा भूपतिन्द्र मल्लको जन्म भएको थियो । बाल्यकाल देखि होनहार युवराजले बुबाले बनाउदै गरेका मठ मन्दिर, दरवार, शासन ब्यवस्थालाई नजिकबाट नियालेका थिए । सानी आमाले युवराज भूपतिन्द्र मल्ललाई मार्न षड्यन्त्र गरि नालाको जंगलमा लगेपनि होसियार युवराज त्यहाँबाट उम्कन सफल भएका थिए । यसै घटना पश्चात् कान्छी रानीका प्रेमी भाजुकसको हत्या भएको थियो । १३ बर्षको उमेरमा राजकुमारी विश्व लक्ष्मीसंग सन १६८७ मा उहाँको विवाह भएको थियो । राजकाजमा निकै सक्रिय रहेका युवराज सन १६९६ मा बुबा हुन्जेल नै भक्तपुरका राजा हुनु भएका थिए । यसै साल सर्वप्रथम सिद्धिलक्ष्मी वत्सला मन्दिर र सिंह ध्वाका दरवारको निर्माण गरेका थिए भने सन १६९८ मा नरसिंह बिसालको पनि निर्माण गरेका थिए । बुबाले निर्माण सुरु गरेको (पचपन्न झ्याले दरवार)को निर्माणको निरन्तरताबाट आफ्नो राजकाजको भार सम्हालेका थिए । सन १७०१ मा ५५ झ्याले दरवार पुर्णरुपले निर्माण गरेका थिए । आफ्नो जीवनकालमा सन १७०१ मा सुवर्णेश्वर मन्दिर, सन १७०२ मा न्यातपोल मन्दिर र च्वङा गणेशको निर्माण गरेका थिए । सन १७०३ मा छोरा रणजित मल्लको जन्म भयो र १७०७ मा झौर बहि (मंगलधर्मद्विप महाबिहार), र बसन्तपुर दरवारको जिर्णोद्वार गरेका थिए । सन १७१० मा बुबा जितामित्र मल्लको स्वर्गारोहण भयो भने सन १७१९ मा तीन तल्ले भैरव मन्दिर, सन १७२१ मा खिचाखो गां, सन १७२२ मा डोलेश्वरको तीन तल्ले मन्दिर लगायत अन्य मन्दिरहरु बनाउन लगाएका थिए । यसका साथै उहाँकै पालामा नेपालको बाटो भएर भारत तिब्बत व्यापार गर्ने ब्यापारीहरुबाट शुल्क उठाउने (कर) ब्यबस्था मिलाएका थिए । भक्तपुरका नेप जु:जु भनी चिनिने राजा भूपतिन्द्र मल्लले मलामी लान्दा बजाइने न्यखिं बाजाको आवाज सुन्ने बितिकै जनताको शोकमा आफुले खान्दै गरेको खाना पनि त्यगिदिन्थ्यो । हरेक दिन जसो मलामी लगिरहन्थ्यो भने हरेक दिन नै खाना त्याग्नाले बिमारी परेका राजालाई बचाउन काजीहरुले त्यसदिन देखि मलामी लग्दा बाजा बजाउन रोक लगाएका थिए । त्यसैगरि उहाँकै पालामा स्वर्णद्वार पनि बनाउन लगाएका थिए तर बिडम्बना सन १७२२ मा उहाँको देहावसान भएपछि यस कार्यले पुर्णता पाउन सकेन ।
लेख: GR Ranjit


