राजा रणजित मल्लका सातबाहा (दरवार) हरु
राजा रणजित मल्लका पाँच श्रीमतीहरू थिए ।
१. वृद्धिलक्ष्मी
२. ऋद्धिलक्ष्मी
३. बुद्धिलक्ष्मी
४. बिश्वलक्ष्मी
५. जयलक्ष्मी (मनमैजु)
यसमध्ये रानी वृद्धिलक्ष्मीका तर्फबाट जेठा छोरामा देवेन्द्र मल्ल थिए भने ऋद्धिलक्ष्मीका तर्फबाट जेठा वीरनरसिंह मल्ल र कान्छी रानी जयलक्ष्मी (मनमैजु) को तर्फबाट सात छोराहरु (भाजुराजाहरू) मा
जेठा मनोरथसिंह मल्ल
माइला धनसिंह
साइँला उपेन्द्रसिंह
काहिँला अच्युत (अजित) सिंह
ठाइँला, अवधूतसिंह
कान्छा लक्ष्मीनरसिंह
सानोकान्छा जयनारायणसिंह
थिए । यस मध्ये वीरनरसिंह मल्ल जो पृथ्वीनारायण शाहका मीत थिए, उनको षड्यन्त्रपूर्ण हत्या भएका थिए । त्यसपछि मनमैजुका छोराहरुको शासनमा हाबी हुन थाले । त्यस समय ती युवराजहरु मध्ये केहीका लागि छुट्टै बाहा बनाएका थिए भने केही बाहाहरु विभिन्न प्रयोजनका लागि बनाएका थिए । बाहाको एक बिशेषता भनेको चोर बाटो बनाउनु हो । आपत्कालिन समयमा भाग्नु पर्ने परिस्थिती आयो भने एक बाहाबाट अर्को बाहा हुन्दै जानको लागी बाहाहरु बनाएको हुन्छ । जसमध्ये प्रमुख बाहामा:
१) ५५ झ्याले दरवार
२) थाथु बाहा – खौमा
३) दुबसी बाहा – कोलाछें
४) सन्तन बाहा – खौमा
५) खौमा बाहा – खौमा
६) कुथु बाहा – तपालाछी
७) थथुचा बाहा
८) नासमना बाहा नासमना
९) भोतया बाहा सोमला
१०) पूँबाहा – टौमढी
११) दथुबाहा
१२) चोछेंबाहा – बहत्वा चोछे
१) ५५ झ्याले दरवार (ङेङापा झ्य)
नेपाल सम्बत ८२८ मा राजा भूपतिन्द्र मल्लद्वारा बनाएका ५५ झ्याले दरवार नै त्यस समयको मुख्य दरवार थियो । सम्पूर्ण राजकाज यसै दरवारबाट हुने गर्थ्यो भने राज परिवारहरु पनि यसै दरवारमा बस्ने गर्थ्यो । यस दरवारमा ९९ वटा चोकहरु भएको कारण दुश्मन सेनाहरु सजिलै राजा भएको स्थानमा पुग्न सक्दैन ।
२) थाथु बाहा: खौमा टोलमा अवस्थित थाथु बाहा उच्च भेगमा रहेको कारण थाथु बाहा भनिएको हो । यो बाहा बिशेषगरी अजित सिंह मल्लको लागि बनाएको थियो ।
३) दुबसी बाहा: कोलाछें टोलमा रहेको यो बाहा राजा रणजित मल्लका ठाइँला छोरा अवधूतसिंह मल्लका निमित्त बनाएका थिए ।
४) सन्तन बाहा: बि.सं १८२६ मा भक्तपुर माथी आक्रमण गर्दा पृथ्वीनारायण शाहका सेनाले यस बाहाबाट नाचगानको सामनहरु लुटेका थिए भने पछि यो बाहा त्यस समय नाचगान सिकाउने बाहाको रुपमा प्रयोग गरेका थियो भन्न सकिन्छ । पृथ्वीनारायण शाहलाई सात बाहाले आक्रमणमा सहयोग गरेको कुरालाई यस बाहाले मिथ्या साबित गरेको थियो किनकी <span;>यस बाहामा पृथ्वीनारायण शाहका सेनाहरु हताहत भएको ईतिहास पाइन्छ । मनोहर सिंहको मातहतमा रहेको यो बाहालाई पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहले अर्को सेना लगेर यहाँका बाहा नायो समेतको हत्या गरेका थिए ।
५) खौमा बाहा: यो बाहा सबैभन्दा पुरानो बाहा हो । यसलाई खौमा बाहाका साथै खौमा क्वाथ पनि भन्ने गरिन्छ । १६ शताब्दीमा राजा भुवन मल्लको भाइ जित मल्ल प्रभाव शाली हुन्दा राजकाजमा हस्तक्षेप गर्न लाग्यो भनेर सैनिकको एक टुकडी सहित दरबारको पश्चिम भेगको सुरक्षाको लागि यो बाहाको नायो पद दिएका थिए । जित मल्ल पछि उनका छोरा गोसाई मल्ल नातिहरु पुर्णसिं भारो, अमरसिं भारो, दर्बोसिं भारो, मदनसिं भारो, जयसिं भारो यस क्वाथका क्वाथ नायो भएका थिए । जयसिं पछि उनका छोरा मनि र बिष्णु नायो भएका थिए । मनिका छोरा- रुद्र मनि, वीर मनि, रुद्र नारायण, कान्छा नगदेशमा बस्न गएका कारण नगदेश, कुथु बाहा र खौमा बाहाका मल्लहरु इन्द्रायणीलाई कुल देवता मानेर सिथी नख:को दिन पूजा गर्ने गर्दछन ।
६) कुथु बाहा: तपालाछिमा अवस्थित कुथु बाहा सबैभन्दा ठूलो बाहा हो । राजा जगत प्रकाश मल्लका सन्तानहरुको लागि बनाईदिएको यो बाहाको आफ्नै आगन देवता समेत रहेको छ । यस आगन देवतालाई तलेजु भवानीको समकक्ष समेत मान्दछ । यस आगन देवतालाई उर्डो आमनायक देवी अर्थात त्रिपुरसुन्दरी षोडशी देवी पनि भनिन्छ । बि.सं १८२६ मा यस बाहाका नायो भाजु कुटुले पृथ्वीनारायण शाहले आक्रमण गर्दा आफ्नो सम्पती (हिरा ज्वाहारात, सुन) लुट्ने कुरा थाहा पाएर आफ्नो म्होइ वीर नारायण लाखेको घरमा लुकाउन लगेको थियो । यो कुरा थाहा पाएर पृथ्वीनारायण का सैनिकहरुले लाखेको घरबाट लुटेका थिए भने राणाकालमा यस कुथु बाहाको जग्गा जमिन हरण गरेका थिए ।
७) थथुचा बाहा: बाराही द्य:छेंबाट भित्र थथुचा भन्ने स्थानमा रहेको बाहा नै थथुचा बाहा हो । उच्च भागमा रहेको कारण यसलाई थथुचा भनिएको हो । राजा रणजित मल्लकक छोरा जय नारायण सिंहको लागि निर्मित यस बाहामा पृथ्वीनारायण शाहका भारद्वार रामकृष्ण कुंवर पठाई मीत लगाउन, भेट गर्ने ठाउँको रुपमा परिचित छन ।
८) नासमना बाहा: नासमना टोलमा रहेको यो बाहा पुराना कलाकृति रहेको एक बाहा हो । यहाँ एक शिवलिङ्ग रहेको छ जसमा हरहमेसा यसको जलहरिबाट पानी बगेको हुन्छ । त्यस्तै यहाँ रहेको लक्ष्मी नारायणको मुर्तिको बिशेषता भनेको गर्भवती महिलाले दूध चढाउदा दायाँ गयो भने छोरा र बायाँ गयो भने छोरी जन्मिन्छ्न भन्ने मान्यतारहेको छ । यस बाहाका नायो प्रभु नारायण मल्ल हुन । उनका दाजु हेम नारायण मल्ल राजा रणजित मल्लको छडीदार थिए । पृथ्वीनारायण शाहले आक्रमण गर्दा प्रत्याक्रमण गर्न नदिइ रणजित मल्लको पगरी ५५ झ्याले दरवार बाहिर झुन्डाउने हेम नारायण मल्ल नै थिए । प्रभु नारायण मल्ल पृथ्वीनारायण शाहसंग मिलेको थियो । राज्य दिने लोभमा पृथ्वी नारायण शाहले आफ्नो साथमा लिएका थिए । राजा रणजित मल्ललाई कोठामा थुनेर राख्दा गोर्खालीको तर्फबाट बस्ने पनि प्रभु नारायण मल्ल नै हुन । उनले गोर्खालीको तर्फबाट धेरै लडाइँहरु लडेका थिए । पछिल्लो पटक तनहुँमा आक्रमण गर्दा सेन राजाहरुले बन्दी बनाएका थिए । बाँकी सेना सबैलाई मारेर उनलाई १३ दिन सम्म बन्दी बनाएर छोडे पछि पृथ्वीनारायण शाहले उनलाई बिश्वास गर्न छोडेका थिए । पछि अंग्रेजसंग लड्न सिन्धुलीको पठाउँदा सिमखानी गा.बि.स मा कोटदेवीको स्थापना गरेका थिए । पछि उनको कुनै खोजखबर नै भएन ।
त्यस्तै बेतियाबाट ल्याएको राजा रणजित मल्लको रानी वृद्धि लक्ष्मीले पृथ्वीनारायण शाहलाई भक्तपुरमा छिटो आक्रमण गर्नु पर्यो भनेर चिठी समेत लेखेका थिए ।
९) भोते बाहा: सोमला गलिमा रहेको एक बाहालाई भोतेबाहाल वा भोतेय बाहा पनि भनिन्छ । १७ शताब्दीमा राजा जगत प्रकाश मल्ल बनाएको यस बाहालाई ईच्छु बाहा पनि भन्ने गरिन्छ । बिशेषगरि पाहुनाहरु राख्न यो बाहा बनाएको थियो । राजा जगत प्रकाश मल्लले आफ्नो कान्छा छोरा उग्र मल्लको कयता पूजा (ब्रतबन्ध) को भोज खुवाउदा तिब्बतका मित्रहरुलाई समेत डाकेको थिए । ती भोत देशबाट आएकाहरु सबै यसै बाहामा राखेका थिए । त्यस्तै यो बाहा नजिकै धैरै भोगटेको रुख थियो त्यसैले यसलाई भोग्त्या बाहा पनि भनिन्छ । त्यस समय यस बाहामा नाचको प्रतियोगिताको आयोजना पनि गरेको थियो भने १२ बर्षको नाच खं प्याखं समेत हुने गर्दथ्यो ।
१०) पूँबाहा: टौमढी टोलमा रहेको यो बाहा राजा जितामित्र मल्लको भाइ उग्र मल्लको ब्रतबन्धको भोजमा कति खर्च भयो भनेर लेखाजोखा गर्ने बाहाको रुपमा चिनिन्छ । यसै बाहाको झ्यालमा बसेर ङातापोल बनाउदा राजा भूपतिन्द्र मल्लले निरिक्षण गरेको र कामदारहरुको लेखाजोखा गरेको थियो । यो बाहा त्यस समयका पुरोहितहरुलाई बस्न दिएको हुनाले पूँबाहा भनिएको हो । यस बाहामा जनै पूर्णिमाका दिन मुख धुने नौ वटा पूर्व दिशामा फर्केको ल्वहं हिति मध्ये एक रहेको छ भने यस बाहामा रहेको साँझ्यामा भक्तपुरमा पाइने सबै प्रकारको ल्वहं हितिको नमुना कुदिएको छ ।
११) दथुबाहा: बिचको बाहा भएकै कारण यस बाहालाई दथु बाहा भनिन्छ । यो बाहा हरिराम भारो र कुशल भारोको मातहतमा रहेको थियो । यो बाहा राजा जगत प्रकाश मल्लको पालामा बनेको थियो । मल्लकै सन्तती हरिराम भारो र कुशल भारो यो बाहाका नायो थियो । राजा जितामित्र मल्लको पालामा राजासंग रिसाएर हरिराम भारोले काठमाडौ संग सम्बन्ध बढाकोले काठमाडौका राजाले उनिहरुलाई नुवाकोटको प्रमुखमा नियुक्त गरेका थिए । राजा जितामित्र तिनीहरु देखि रिसाएर आक्रमण गरि यो बाहा आफ्नो साथमा लिएका थिए । यस बाहालाई तलमन्दीको बाहा पनि भनिन्छ ।
१२) चोछेबाहा: चोछें टोलमा अवस्थित बहत्वामा रहेको एक बाहालाई चोछें बाहा भनिन्छ । बिशेषगरी यो बाहा सैनिकहरु राख्न लागि बनाएको थियो ।
लेख: GR Ranjit


