दोकाद्य: (छ्वास अजिमा)
दुई नदि जोडिएको स्थानलाई दोभान भने जस्तै दुई बाटो जोडिएको स्थानलाई दोबाटो भन्ने गरिन्छ । दोबाटोलाई नेपाल भाषामा दोका भन्ने गरिन्छ । “दोका”मा रहेको देवतालाई दोकाद्य: भनिन्छ । देकामा टोलका प्रमुख देवताको मन्दिर हुने गर्दछ भने उक्त मन्दिर पछाडी एक लामो ढुङ्गा राखेको हुन्छ । उक्त लामो ढुङ्गा नै दोकाद्य: हो । दोका एक यस्तो स्थान हो जहाँ पुराना कथन अनुसार भूतप्रेतको बास हुने गर्दछ । भूतप्रेत भनेका त्यस मन्दिर र आसपासका रक्षक हुन । तिनीहरुले अरु हानिकारक भूतप्रेतहरुलाई आफ्नो इलाकामा प्रवेश गर्न रोक लगाउने गर्दछ । तसर्थ यी दोकाका भूतप्रेतहरुलाई खुशी पार्नु पर्दछ । यसै कारण बिहान सबेरै मन्दिरमा भगवानको दर्शन गर्दा दोकाद्य:को पनि परिक्रमा गर्नु पर्दछ । दोकाद्य:को परिक्रमा गरिएन वा दोकाद्य:लाई कुल्चियो भने पेट दुख्ने, छाड्ने, हातखुट्टा दुख्ने रोग लाग्दछ भने जनश्रूति रहेको छ जसलाई नेपाल भाषामा “छ्वास पुना हउ” भनिन्छ । यस्तो रोग लाग्दा झारफुक गरी दोकाद्य:लाई पूजा गरेको खण्डमा रोग निको हुन्छ भन्ने जनबिश्वास रहेको छ । दोकाद्य:लाई कसैकसैले छ्वासद्य: पनि भन्ने गरिन्छ । त्यस्तै घरमा कुनै जीवको बलि दिन्दा चोख्याउने भनेर नुन, चिउराका साथ बलि दिएको जीवको गर्धनको मासु राखे दोकाद्य:लाई चढाउने गर्दछ । घरमा श्राद्ध गरेको दिन “कौला वायगु” भनेर परिवारजनले खाएको लपेस (लप्ते) र सलिलाई एक बातामा राखेर छ्वासमा फाल्ने गर्दछ । यसले गर्दा ती छ्वासमा बसिरहेका भूतप्रेतले समेत खान पाइन्छ र छ्वासको दोष लाग्दैन भन्ने जनबिश्वास रहेको छ ।


