स्व. बुद्धि बहादुर रंजितकार
Late Buddhi Bahadur Ranjitkar

बि.सं १९८३ साल माघ शुक्ल सप्तमीका दिन रंजितकार कुलमा श्री बुद्धि बहादुर रंजितकारको जन्म भएको थियो । बाल्यकालमा बिद्यालयको नाममा “नमो बागीश्वराय” मात्र पढ्नु भएका उहाँले गोल पेलेर, भिजाई काठको फ्ल्याकमा दलेर सुकाई अक्षर लेख्ने गर्नु हुन्थ्यो । बि.सं १९९० साल माघ २ गते घर भन्दा अलि परको चौरमा खेली रहेको बेलामा आएको महा भूकम्पमा आफू सात बर्षका बालक भाग्ने क्रममा घर धलेर पुरेका थिए । करिब तीन दिनको पुराईमा केहिपनि होस नआएको उहाँले बताउनु भएको थियो । तीन दिन पश्चात् पुरिएका ब्यक्तिहरुको खोज्ने कार्यमा कोदालोले उहाँको टाउकोमा परेपछि बल्ल होस आएका थिए रे । टाउकोबाट रगत बग्न थालेपछि बिस्तारै खोतलेर हेरि उहाँलाई अस्पताल (त्यसताका चौरमा त्रिपाल राखेर बनाएको थियो ।) लगेका थिए । एक खुट्टा भाँचिएको अवस्थामा अस्पताल पुगेपछि बाँसका भाटा (काम्रो) राखेर उपचार शुरु भएका थिए । बिरामीहरु धेरै हुनाले राती अध्यारोमा औषधि खुवाउन आउने नर्सले औषधि खुवाउदा कसैले नाकमा पर्यो भन्थे त कसैले गालामा पर्यो भन्थे । तर उहाँ सानो बालकलाई राम्ररी मुख छामेर खुवाउनु हुन्थ्यो । करिव दुई तीन बर्ष पश्चात् उहाँको खुट्टाले टेक्न थालेका थिए । ११ बर्ष छन्दा उहाँका बुबा भिमबहादुर रंजितकारलाई गाह्रो भयो भनेर वैद्य बोलाउन पठाउदा बैद्यको घर नपुगुन्जेल बुबाको स्वर्गारोहणको खबर आएका थिए ।

अब उनका अगाडि आमा नानीमाया, बुबा सरहका दाजु दल बहादुर, आफ्नै उमेर सरहका दाजु सुर्य कुमार र दिदीहरु भिमलक्ष्मी र राज्यलक्ष्मीको साथ मात्र थियो । परिवारका कान्छा छोरा आफ्नो दाजुहरु संसंगै खेती गर्थे । प्रयाप्त खेत नभएको र भएकोमा पनि महन्तलाई बाली बुझाउनु परेका कारण खान लगाउन निकै दु:ख थियो । यो पेशाले उभो लाग्दैन भनेर आफ्नो पुर्ख्यौली पेशा “फो तयगु” सुरु गरे । घरमै बसेर काठका ब्लकहरुमा भएको बुट्टाहरु सादा कपडामा विभिन्न रंगले छाप्ने काम गर्नु भयो । अधिकांश समय हनुमानघाट परिसरमा गएर कपडा धुने र सुकाउने मै ब्यतित हुन थाले । यति गर्दा पनि माघे सक्रान्तीका दिन घ्यु चाकु खान नपाएर आफ्नो साहुहरुकोमा आफ्नो लिनुपर्ने पैसा लिन जान्दा एक रुपैयाको डबल माथिबाट खसाली दिन्दा उक्त डबलले घ्यु र चाकु खाएको कुरा पछि सम्मपनि सम्झन्थे । यो पेशा अंगाल्दा अंगाल्दै आफ्नो हात सिदा फैलाउन नसकेको याद नै रहेन ।

निकै परिश्रमी भएका कारण एक मारवाडी (नाम नखुलेको) ले आफूसंग घरेलु कपडाको उद्योगमा पर्टनर हुने प्रस्ताब आएपछि पुरानो काम छोडेर घरेलु कपडा बुन्ने काम शुरु गर्नु भयो । उहाँको उद्योगलाई तत्कालिन भक्तपुर नगर पञ्चायतमा “वीर भद्रेश्वर घरेलु उद्योग” को नाममा दर्ता गरेको थियो । सम्भवत उहाँ नै घरेलु कपडा व्यवसायिक बुनाई गर्ने भक्तपुरका पहिलो ब्यक्ति थिए । पछि गएर मारवाडीले म चलाउन सक्दिन तिमी नै चलाउ भनेर जिम्मा दिएपछि दिन दुगुना रात चगुना भने झै व्यावसायिक सफलता पाउनु भयो । उहाँको उद्योगबाट उत्पादित कपडाहरु भक्तपुर बाहेक बनेपा, पनौती, धुलिखेल, काठमाण्डौका साथै धरान इतहरीमा समेत प्रवर्द्धन हुन्थे । भक्तपुरमा उहाँलाई नचिन्ने सम्भवत कमै ब्यक्ति हुन्थे होला । यस्तो ब्यस्तताका बावजुत धर्मकर्ममा ज्यादै रुचि थिए । दिनहुुँ भजन गर्ने, पाठ पुजा गर्ने, तर्पन गर्ने, रुद्री गर्ने, व्रत बस्ने आदि गर्थे । उहाँका लागि काठमाण्डौ हिडेर जानू त्यहाँबाट पनौती पुगेर घर फर्किनु भनेको सामान्य कुरो थियो ।
लेख: GR Ranjit


