बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath

बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ) लाई हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान् मानिन्छ भने बौद्ध धर्मावलम्बीहरुले श्री करुणामय; पद्मपाणि आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुकारिन्छ । लिच्छवि राजा नरेन्द्र देव (सन ६४०-६८३) को पालामा नेपाल मण्डलमा पानी नपरी सुख्खा भई दुर्भिक्ष वा अनिकाल भएका कारण लिच्छवीकालका भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका तान्त्रिक वज्राचार्य गुरु बन्धुदत्त र पाटनका किसान रथचक्रले करुणामयलाई आसामको कामरूपा कामख्याबाट ल्याएका थिए । गोरखनाथ रिसाएर सम्पुर्ण नागहरु माथी आसन गरि ध्यान गर्नाले पानी नपरेको तथा गोरखनाथलाई त्यस स्थानबाट उठाउन उहाँका गुरु मत्स्येन्द्रनाथलाई ल्याउनु परेको थियो । रातो मत्स्येन्द्रनाथलाई तान्त्रिक बिधिबाट राख्न भक्तपुर वडा ४ बोलाछें टोलमा अवस्थित अखं बहालमा एक भब्य मन्दिर (सुन्ने अनुसार पांच तल्ले मन्दिर) को निर्माण गर्न लगाएका थिए । पछि सन १९३४ को भुकम्पमा उक्त मन्दिर भत्किएपछि घरको संरचनामा विहार निर्माण गरेका थिए । उक्त विहारको नाम नै अखण्डशिल महाविहार हो । यसै विहारलाई अखं वहा पनि भनिन्छ । यस बिहारको फूल नलगेसम्म मत्स्येन्द्रनाथको जात्रा शुरु हुन्दैनन । धेरै खडेरीको मार ललितपुरमा भएको हुनाले सहकालका देवता भएको कारण ललितपुरका जनताहरुको भलोको निम्ति जात्रा चलाउने र यदि जात्रा नचलाएको खण्डमा भक्तपुर ल्याउने सर्तमा रातो मत्स्येन्द्रनाथलाई राजा नरेन्द्र देवले ललितपुरमा पठाइयो । ललितपुरमा श्री सूर्य दक्षिणायण गरी १२ पक्ष अर्थात् ६ महिना बुङ्गमतीमा राख्ने र श्री सूर्य उत्तरायण भरी १२ पक्ष अर्थात् पछिको ६ महिना मात्र पाटनमा राख्ने निधो गरे । सम्भवतः वि.सं. १६७८ मा धार्मिक राजा श्री सिद्धिनरसिंह मल्लले नै ज्योतिषीबाट साइत हेराइ उत्तरायण र दक्षिणायण स्पष्ट जनाउन ६/६ महिना पाटन र बुङ्गमतीमा राख्ने चलन चलाएको भन्ने भनाइ छ। मत्स्येन्द्रनाथ बुङ्गमतीबाट पाटनमा ल्याइँदा चौधौं शताब्दीमा बनाइएको मच्छिन्द्रवहाल (तःवहाल) को मन्दिरमा राखिन्छ र पाटनबाट बुङ्गमती लैजाँदा चौधौं शताब्दीतिरै बनाइएको शिखर शैलीको भब्य मन्दिरमा राखिन्छ । बुङ्गमती भन्नाले “बुं”+”ग”+”मति” हो जस्को अर्थ नदि छेवैमा रहेको खाल्डोको खेत भन्ने बुझिन्छ । स्वयम्भू पुरान अनुसार सबै भन्दा पुरानो बस्तीको रुपमा बुङ्गमतीलाई लिइन्छ ।
लेख: GR Ranjit


