देखा (Dekha)
नेवार समुदायमा प्रयोग गरिने विभिन्न बस्तुका नामहरु मध्य एक “देखा” पनि हो । देखा भन्नाले कुनै ब्यक्तिहरुलाई दिक्षा प्रदान गर्नु हो । अर्थात दीक्षा प्राप्त गरेका ब्यक्तिहरुको मोक्ष प्राप्तिका निम्ति गरिने साधनालाई देखा भनिन्छ । देखालाई नेपाली भाषामा दीक्षा भन्ने गरिन्छ । देखा लिनु भनेको कुनै ब्यक्तिले कुनै एक जप बिद्यामा ज्ञान हासिल गर्नु हो । यस्तो दीक्षा विभिन्न देवदेवीहरुको छुट्टाछुट्टै हुने गर्दछ । जस्तै दश महाबिद्याको दीक्षा, महादेवको दीक्षा, गणेशको दीक्षा आदि । दीक्षा दिने बेला एक कोठामा कसैले नदेख्ने गरि गोप्य रुपमा दिने गर्दछ भने यसको अभ्यास ४ दिन देखि २१ दिन सम्म गर्ने गर्दछ । यस अबधि भित्र दीक्षा दिनुको साथै विभिन्न मुन्द्राहरु बारे सिकाउने गर्दछ । जस्तै पलवम मुद्रा, योनि मुद्रा, ज्ञान मुद्रा, सुरभी मुद्रा आदि । यस्ता मुद्राहरु ८ देखि २४ मुद्राहरु हुने गर्दछ । सम्पुर्ण दीक्षामा निपूर्ण भए पश्चात् जागं पूजा (जागरण पूजा) हुने गर्दछ । जागं पूजा भन्नाले आफुले सिकेका दीक्षाको जागरण गर्ने पूजालाई बुझाउँदछ । यसरी दीक्षा लिएपछि एक प्रकारको धागा लगाई दिने गर्दछ जसलाई “देखा बिगु” भनिन्छ । नझुकिनु होला देखा भन्नाले जनै भने पक्कै होइन । जनैलाई नेपाल भाषामा ज्वना र संस्कृत भाषामा यज्ञोपवित भनिन्छ । दिखा लिएका ब्यक्तिहरुले हरेक दिनेको ३ प्रहर जप गर्नु पर्दछ । दिखा लिनुको अर्थ उक्त ब्यक्तिद्वारा मन्त्रोचरण गरि बैधिक वा तान्त्रिक पूजामा निपुर्णता हासिल गर्नु हो । यसरी दिखा लिएका ब्यक्तिको देहावसान भएको खण्डमा उक्त ब्यक्तिको दाहासंस्कार गर्नु पूर्व “देखा लिताबेगु” भनेर देखा फुकुवा गर्नु पर्दछ । देखा फुकुवा गर्दा उक्त ब्यक्तिको पार्थिव शरीरसंगै एक किसली र १० वटा सुपारी राखेर पूजा गरि देखा फुकुवा गरिन्छ । त्यस पछि मात्र अन्तिम संस्कार गरिन्छ । उक्त मृतक ब्यक्तिको लत्या (४५ दिने श्राद्ध) को दिन “मता पूजा” गरि देखा फिर्ताका सम्पुर्ण कार्यविधि सम्पन्न गर्दछ ।
लेख: GR Ranjit
स्रोत: Amrit Mishra


