एकान्त कुमारी (Ekanta kumari)

मल्लकालदेखि उपत्यकाका तीन शहरहरुमा छुट्टाछुट्टै कुमारीहरु रहेका छन । कुमारीलाई तलेजु भवानीको प्रतिमूर्तिको रूपमा पुजिने गर्दछ । काठमाण्डौका राजा जय प्रकाश मल्ल (सन १७३६-१७६८) ले दैनिक तलेजु भवानीसंग पासा लेख्दथे । एकदिन तलेजु भवानीसंग पासा खेल्ने क्रममा राजाले बिबाहको प्रस्ताव राख्दा राजाको मनमा कुविचार पैदा भयो भनेर त्यहाँबाट अन्तरध्यान भएपछि राजाले माफी मग्दा आकाशवाणी आई राजालाई क्षमा प्रदान गरि आफू शाक्य कुलमा कुमारीको रुपमा जन्मिने भने पछि कुमारीको पुजा तथा जात्रा शुरु भएको थियो भन्ने किंवदन्ती रहेको छ । तर भक्तपुरमा एकान्त कुमारीको पुजा नेपाल संवत् ६११ (सन १४९१) मा राजा राय मल्लको पालामा चलन सुरु भएको इतिहास रहेको तलेजुका मूल नाइके नरेन्द्र जोशीले बताउनु भयो । तलेजु कुमारीका लागि भक्तपुरको बज्राचार्य वा शाक्य वंशीय कन्या मात्रकुमारी हुनुपर्ने परम्परा रहेको छ । कुमारी हुने कन्या सबै गुणले सम्पन्न, कुनै दाग, घाउँचोट नलागेको हुनुपर्ने, अपाङ्ग भएको नहुने र कुमारी खोज्दा कुमारीका बन्न इच्छुक कन्यालाई परिवारको स्वीकृतिमा तलेजुको फूल टाउँकोमा राखेपछि बिरामी नपरेमा यस्ती कन्यालाई कुमारीको लागि छनोट गरिने परम्परा रहेको छ । एकान्तकुमारी छनोट भएपछि दसैको घटस्थापनादेखि पूर्णिमासम्म भक्तपुरको प्रशन्नशील विहारस्थित कुमारी घरमा बस्नुपर्छ भने अन्य दिन आफ्नो घर मै बस्न मिल्ने परम्परा समेत रहेको छ । घटस्थापनाका दिन देखि बिहानीको समयमा प्रशन्नशिल बिहारबाट भक्तपुर दरवार स्क्वायरमा रहेको चतुर्ब्रम्ह महाबिहारमा लगिन्छ । र पछि उक्त बिहारबाट तलेजुमा लगेर पुजा गर्ने गर्दछ । तीन बर्ष देखि आठ बर्ष सम्मको कन्या मात्र कुमारी बन्न पाउँछ । कुमारी भएको दिन देखि बेल बिबाह गर्नु पुर्व सम्म तिनीहरु कुमारी बन्दछ । महा नवमीको दिन जीवितदेवीका रूपमा पुजिने भक्तपुरको एकान्तकुमारी, भैरव र गणेशसहित ११ कुमारीको पूजा गरी कुमारीजात्रा मनाइन्छ । यसरी कुमारीजात्रा गर्दा गोल्मढी हुन्दै चासुखेलमा रहेको एकान्तकुमारी घरमा राखेर पुजा आजा गर्ने गर्दछ । उक्त स्थानमा दरवारबाट जुजु (राजा) सहित भई कुमारीलाई लिन आउने गर्दछ । जुजु दुरुपोद्य:मा रहेको जुजु फल्चामा बसि रहन्छ भने उहाँका मन्त्रीहरु आएर कुमारीलाई ससम्मान लगिन्छ । यसरी जुजुले कुमारीलाई तलेजुमा लगेर विधि अनुसार पुजा गर्ने गर्दछ । तलेजुको मूलचोकको पश्चिममा रहेको कुमारी चोकस्थित दशैँघर सवारी भएर कुमारीलाई तलेजुका जोशी, राजोपाध्याय र कर्माचार्य पुजारी नाइकेहरुसँगै अरु रकमीले पूजाआजा गर्ने प्रचलन पनि रहेको छ । बिजया दशमीको दिन सुर्यमढी स्थित अदिपद्म महाबिहारको अगाडि रहेको कुमारी घरमा रहि सम्पुर्ण भक्तजनहरुलाई दर्शन दिने गर्दछ । यस कुमारीलाई किन एकान्त कुमारी भनिएको भन्ने बारे एक किंवदन्ती रहेको छ । एक पटक गोठालोहरु बोका, भेडा चढाएर फर्केको बेला कुमारीहरु अदृश्य रुपमा संसंगै आएका थिए रे । त्यस मध्य एक कुमारी बाटो बिचमा हराएछ । जब तिनीहरु चासुखेलमा पुगे तब उक्त हराएको कुमारी एकलै आएछ र चासुखेलमा पुगेर सिद्ध भएछ । तब देखि यस कुमारीलाई एकान्त कुमारी भन्न थालेछ ।
लेख: GR Ranjit


