नेवारहरुको प्राचीन प्रेम कहानी (Love story)

मंसिर महिनामा मनाइने योमरी पुर्णिमाका दिन नेवार समुदायमा योमरी माग्न जाने चलन रहिरहेको छ । यसरी योमरी माग्न जान्दा “त्योछिं तियो । बछिसां तियो । थाबलेया सामा वल योमरी न्यग तियो । बिउ म्ह ल्यासे । मबिउ म्ह बुढीकुटि ।” भन्दै माग्न जाने प्रचलन रहेको छ । आफुलाई ल्यासे (तरुणी) भनाउन घर घरबाट योमरी माग्न आउनेहरुको लागि योमरी दिने गर्दछ । त्यहाँ केटाकेटीको पहिलो देखादेख हुने गर्दछ । भनौ लाभ इ फास्ट साइट हुने गर्दछ । त्यसको भोलि पल्ट मतिना पारुको दिन भेट्ने खबर दिइन्छ । यसरी मायाको अंकुरण फुट्ने गर्दछ । यसरी सुरु भएको माया होलि पुर्णिमामा होलि खेल्न उहीँ केटीको घरमा पुग्दछ । केटीलाई होलिको निहुँमा अबिर दलि दिन्दा केटी रिसाएपछी “अबिरया होलि तंचायाला ल्यासे अबिरं छंगु ख्वा बांलाक बि” भनी गीत गाउछ र केटीको मन झन खुशी हुन पुग्दछ । त्यसपछि आउने जात्राहरु बिस्का जात्रा, रातो मच्छिन्द्रनाथको जात्रा, इन्द्रजात्रामा दुबै केटाकेटीहरु आफ्नो परिवारका साथ जात्रा हेर्न जाने गर्दछ । बोल्नलाई संगै रहेका परिवारले थाहा पाउला भने डर हुन्छ तसर्थ दुबैको आँखी भाषा शुरु हुने गर्दछ । त्यस्तै असारमा धान रोप्न केटीको खेतमा बोलाज्या जाने गर्दछ । यसै क्रममा जिस्की कुराकानी गर्ने मौका पाउदछ । त्यसपछि तिनीहरुको भेट “पेम्ह नारायण सिकेगु” (चार नारायण चिन्ने) मा हुने गर्दछ । चांगु, इचंगु, बिशंखु, शेष नारायण जानेक्रममा एकले अर्कोलाई बोल्न थाल्दछ । त्यसपछिको भेट भनेको गुंला महिनामा हो । त्यस महिनामा चार भगवान (बुद्ध) थाहा पाउने भनी मेला भर्न निस्किन्छ । नमो बुद्ध, स्वयम्भू, बुंगमती, बज्रयोगिनी जानेक्रममा एकले अर्कालाई बुझ्ने मौका मिल्दछ । यसरी दोहोरो माया बसेपछि वा एकले अर्कालाई बुझेपछि निकटता बढेको कुरा गाइगुइ सुनिन थाल्छ । अब केटीका आमाबाबु केटीको विवाह गरिदिन हतारिन्छ । केटाको खोजी हुन सुरु हुन्छ । केटीले नै मन पराएको केटा उचित छ भने सौहाद्र वातावरणमा विवाह सम्पन्न हुने भयो । यदि केटा चित्त बुझेन भने अर्को केटाको खोजी हुने गर्दछ । यसैबिच दशैंको नवरात शुरु हुन्छ । नवरातको त्यो नौ रात शक्तिपिठहरुमा लाग्ने मेला भर्नेक्रममा भागेर विवाह गर्न सम्पुर्ण चाजोपाजो मिलाउने कुरो हुन्दछ । बिजया दशमीको दिन “पायो न्ह्याकेगु” भनेर केटी पोइला जाने गर्दछ । यसदिन भागेको केटीलाई फर्काउने गरिन्दैन । तसर्थ दशमीको दिन कुनैपनि शुभकार्य गर्न कुनै साइट हेर्न आवश्यक छैन ।
लेख: GR Ranjit
स्रोत: ॐ धौभडेल
फोटो: Rashana Bajracharya


