शाक्य (Shakya)

नेवार समुदायमा रहेका विभिन्न थरहरु मध्य शाक्य पनि एक हुन । नेवाहरुका थरहरुको विश्लेषण गर्दा शाक्यहरुको बंशावली पुरानो बंशावली मध्य एक मानिएको छ । प्राचीन समयमा कौशल राज्यका प्रमुख कोकाकले कान्छी तर्फका छोराहरुलाई राज्य सुम्पने बिचार गरि जेठी तर्फका ४ छोरा र ५ छोरीहरुलाई दरवारबाट निस्कासन गरेका थिए । यी लखेटिएका राजकुमार र राजकुमारीहरु उत्तर तर्फ लाग्दा तपस्या गरि बसेका कपिल मुनि संग भेट भए । कपिलमुनि कै सल्लाह मानेर सक वृक्षको जंगल फांडेर त्यहाँ बस्ती बसालेका थिए । सक वृक्ष जंगल फाँडेर बसेका कारण तिनीहरुलाई शाक्य भनिन थाले । पछि ती बस्ती नगरको रुपमा बिकास भयो र कपिलमुनीको नामले कपिलवस्तु कहलिए । तसर्थ भगवान गौतम बुद्ध पनि शाक्य कुलकै थिए । यसै कारण उहाँलाई शाक्यमुनी बुद्ध पनि भन्ने गरिन्छ । उहाँको समय (आज भन्दा २६४७ बर्ष पहिले, बुद्धको जन्म भएको समय) मा नेपालको पश्चिम दिशामा थुप्रै शाक्य राज्यहरु थिए । जसमध्ये कपिलवस्तु, देवदह आदि शक्तिशाली शाक्य राज्यमा गनिन्थ्यो । ती राज्यका शासकहरुको एउटा संघ हुन्थ्यो । उक्त संघको निर्णय ती सम्पुर्ण शाक्य राज्यहरुले मान्नु पर्थ्यो । शाक्यहरुको अनुरोध बाबजुद सिद्धार्थ बुद्धले ज्ञानको खोजी गर्न सम्पुर्ण राजकाज छोडेर बोधिगया पुग्नु भएको बेला त्यस समयका शक्तिशाली राष्ट्र कोशलका राजा प्रसन्नजितका छोरा विडुधवले प्रसन्नजितलाई अपदस्त गरी आफु राजा भइ शाक्यहरुको गणराज्य कपिलवस्तु र देवदहमा भिषण आक्रमण गरी नरसंहार गरेका थिए । सम्पुर्ण शाक्य राज्य ध्वस्त भए पश्चात् शाक्यहरु यताउता छर्न पुगे । पछि बुद्धले बुद्धत्व प्राप्त गरेपछि धेरै शाक्य कुलका मानिसहरु बुद्धको अनुयायी हुन पुगेका थिए । सातौ किराँती राजा जितेदास्तीका समयमा गौतम बुद्धका चेला आनन्द नेपाल मण्डल आएर बुद्ध धर्मको प्रचार गरेका थिए । यसै समय बुद्धका अनुयायी भएर शाक्यहरु नेपाल पसेका थिए । नेपाल पस्ने बाटोहरुमा बुद्धका चैत्यहरु बनाउदै आएका थिए । चैत्यलाई नेपाल भाषामा “चिव द्य:” भनिन्छ । “चिव दगु लां” (चैत्य भएको बाटो) बाटै चित्लाङ हुन पुगेको थियो । यसरी चित्लाङ भएर बौद्ध मार्गीहरु नेपाल आएका थिए ।
लेख: GR Ranjit


