डोलेश्वर महादेव (Doleshwor Mahadev)
सुर्यबिनायक नगरपालिका वडा नं ८ सिपाडोलमा अवस्थित बिमला गंगाको तिरमा रहेको एक पबित्र तिर्थस्थलको नाम डोलेश्वर महादेव हो । डोलेश्वर भन्नाले डोलको ईश्वर भन्ने बुझिन्छ । पहाडको फेदमा अवस्थित रहेको भागलाई डोल भन्ने गरिन्छ । यसरी पहाडको मुनि स्थापित भएकोले यस महादेवलाई डोलेश्वर महादेव भन्ने गरिन्छ । यस डोलेश्वर महादेवलाई स्थानियहरुले नेपाल भाषामा “सिपारे महाद्य:” भन्ने गरिन्छ । सिपारे शब्द “शिर पहाड रे” बाट बनेको हो भन्ने गर्दछ जसको अर्थ उतराखण्डमा अवस्थित केदारनाथको शिर पहाडमा रहेको भन्ने बुझिन्छ । हिम्बत खण्डमा पनि यस महादेवलाई सिपारे महादेव भनी उल्लेख गरिएको छ । सिपारे महादेवका कारण यस भेगको नाम सिपाडो हुन्दै सिपाडोल रहन गएको हो ।

यस मन्दिर बारे एक किंवदन्ती रहेको छ । द्वापर युगमा महाभारतको युद्ध पश्चात् पाण्डवहरु पाप मोचनका निमित्त केदारनाथको दर्शन गर्न उतराखण्ड तर्फ लागे । आफ्नै दाजुभाइहरुको हत्या गरेको कारण शिवले पाण्डवहरुलाई दर्शन दिन चाहेनन र सांदेको रुप धारण गरि त्यहाँबाट भागेर सांदेहरुको बथानमा मुछिनु पुग्दछ । यो कुरा चाल पाएर भिमसेनले विशाल शरीर धारण गरे र नकुल र सहदेवले सांदे धपाउन थाले । भागेका सांदेहरु भिमसेनको ताङ मुनिबाट कुद्न थाले तर एउटा सांदे भने जान अन्कनाइ रहे । यसरी अन्कनाइ रहेको सांदे नै महादेव हो भनेर चिनेर सांदेको टाउको समात्दा सांदे अन्तरध्यान भएछ । भिमसेनको हातमा रहेको सांदेको टाउको नेपाल मण्डलमा स्थापना गरे जुन सिपारे महादेवको नाममा प्रसिद्ध भए । यसै कारण यस महादेवलाई भगवान केदारनाथको शिर पनि भन्ने गरिन्छ । बि.सं २०६६ साल भाद्र ६ गते शनिवारका दिन केदारनाथ पिठका प्रधान पुजारी श्री १००८ जगतगुरु भीमाशंकरलिंग शिवाचार्यले जंगम मठ भक्तपुरमा अवस्थित डोलेश्वर महादेव नै श्री केदारनाथको शिर भाग हो भनी घोषणा गर्नु भएको थियो । तसर्थ भाद्र ६ गतेका दिन यस मन्दिर भित्र गई दर्शन गर्न सम्पुर्ण भक्तजनहरुको लागि ब्यबस्था गरिएको छ ।
४००० बर्ष पुरानो भनिने यस मन्दिर विभिन्न समयमा आएको भूकम्पले भत्केका थिए । पछि राजा भूपतिन्द्र मल्लद्वारा तीन तल्ले प्यागोडा शैलीको मन्दिरको निर्माण गर्न लगाएका थिए जुन १९९० सालको भुकम्पमा पुर्णरुपमा नष्ट भए । पछि यसै स्थानमा गुम्बज शैलीमा सानो मन्दिरको निर्माण गरेको थियो । बि.सं २०७२ सालको भुकम्पले क्षतिग्रस्त सो मन्दिर भत्काई दुई तल्ले प्यागोडा शैलीको बिशाल मन्दिर निर्माण गरिन्दैछ । यस मन्दिरको दक्षिण तर्फ १२० धार्नीको पत्थरको त्रिशुल गाडिएको छ जसमा नेपाल सम्बत ८४९ कुँदिएको छ । पश्चिम तर्फ शिलाको बसाहा (नन्दी) को मुर्ती रहेको छ । यस नन्दिको कानमा आफ्नो मनोईच्छा मागेको खण्डमा उक्त माग महादेवको कानमा पुग्दछ र ईच्छा पूरा हुन्छ भने जनबिश्वास रहिआएको छ ।
लेख:-GR Ranjit


