टिच्चा महादेव/रत्नचुडेश्वर महादेव (Ticha Mahadev)
नगरकोट-४ मा एक प्रसिद्ध तिर्थस्थल रहेक छ जसलाई टिच्चा महादेव (रत्नचुडेश्वर महादेव) भनिन्छ । नगरकोटको पुरानो नाम रत्नचुड डाँडा हो जसलाई रत्नागिरी पहाड पनि भनिन्छ । सोही पर्वतमा बिराजमान महादेवलाई रत्नचुडेश्वर महादेव भनिन्छ । यसै महादेवको परिसरमा रहेको पोखरीलाई महादेव पोखरी भनिन्छ ।
समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष पिएका महादेवले विषको डाहा सहन नसकी यताउता भौतारिरहँदा रत्नचुड पर्वत पुगेपछि महादेवले विभिन्न जलका स्रोतको सृजना गरी नदीनाला प्रादुर्भाव गरेर उक्त कुण्ड बनाएको जनश्रुति रहेको संस्कृतिका अध्येयता प्रेमप्रसाद काफ्लेका रहेका छन । कुण्ड तयार भएपछि महादेव यसैमा शयन गरेकाले यसलाई महादेव पोखरी भनिएको हो’, उनी थप्छन्, ‘महादेव पोखरी सानो भएर विषको डाहा समन नभएपछि पुनः महादेव हिमालतर्फ अघि बढी हालको गोसाईंकुण्ड गएर आफ्नो साथमा रहेको त्रिशुलले हिमालको पहरा फोरेर त्रिशुली नदी प्रवाहित गरी बनेको गोसाइँकुण्डमा शयन गरेको जनविश्वास रहँदै आएको छ।’ रसुवा जिल्लास्थित गोसाईंकुण्ड पुग्न नसके नगरकोटको यस पोखरीमा आएर स्नान गर्दा गोसाईंकुण्ड पुगेको सरह मानिने पनि जनबिश्वास रहेको छ । यस महादेव पोखरीमा जनै पुर्णिमाका दिन मेला समेत लाग्ने गर्दछ भने जनै पुर्णिमाका मध्यरात सम्म यहाँ मेला लाग्ने गर्दछ । यस महादेवलाई नेपाल भाषामा टिच्चा महादेव पनि भनिन्छ भने महादेव पोखरीलाई महाद्य: पुखु भनिन्छ ।
लेख: GR Ranjit
स्रोत: ईश्वरकाजी खाइजु


