छिपा (Chhipa)
नेवार समुदायमा रहेका विभिन्न थरहरु मध्य छिपा पनि एक हुन । छिपा थरका मानिसहरुको मुख्य पेशा भनेको कपडामा रंग भर्नु र सुकाउनु हो । यस कार्यलाई नेपाल भाषामा “छिगु पायगु” भनिन्छ । “छिगु” को अर्थ रंगाउनु हो भने “पायगु” को अर्थ सुकाउनु हो । यसै “छिगु पायगु” शब्दहरुबाट छिपा शब्द बनेको हो । यी जातीले भक्तपुरमा मनाइने बिस्का जात्रामा उभ्याइने विश्व ध्वजा (हलिपत) बनाइने भएका कारण यिनीहरु पनि लिच्छविकाल वा सो भन्दा पहिले देखि नेपाल मण्डलमा बसोबास गर्दै आएको हुन सक्ने अनुमान गर्न सक्छौ । छिपा अन्तर्गत मुख्य ४ थरहरु रहेका छन ।
१. रंजितकार
२. रंजित
३. राजबंशी
४. गुप्त
१. रंजितकार : छिपाहरुमा अधिकांश ब्यक्तिहरुको थर रंजितकार रहेको छ । रंजितकार भन्नाले रंगमा जीत हासिल गरेका ब्यक्तिहरुको समूह भन्ने अर्थ लाग्दछ । यिनीहरु महामञ्जुश्रीसंगै नेपाल आएका थिए भन्ने गरिन्छ । रंजितकारहरु मुख्यतः काठमाण्डौमा मञ्जुश्री क्षेत्र र भक्तपुरमा गोल्मढी क्षेत्रमा रहेका छन ।
२. रंजित: बास्तबमा रंजित थर रंजितकारबाटै अप्रभंस भएर आएको थर हो । रंजितहरुको बंशज रंजितकार नै हुन ।
३. राजबंशी: छिपा अन्तर्गत अर्को थर भनेको राजबंशी पनि हो । राजबंशी भन्ने बित्तिकै सबै राजबंशीहरु छिपा भन्ने होइन । केही राजबंशीहरु मल्ल थरका पनि हुने गर्दछ भने केही राजबंशीहरु छिपा अन्तर्गत रहेका छन । मुख्यतः नेपालको पूर्वी भेगबाट आएका छिपाहरुको थर राजबंशी रहेको छ ।
४. गुप्त: नेवार समुदायमा गुप्त थर भएका ब्यक्तिहरु पनि रहेका छन । यहाँ गुप्त बारे चर्चा गर्दैछौं । गुप्त र गुप्ता फरक थर हो । गुप्ता भन्दा मदेशी मुलका ब्यक्तिहरुको थर हो । तर नेवार अन्तर्गत गुप्त थर रहेका छन । गुप्त थरका नेवारहरु छिपा अन्तर्गत पर्दछ । मुख्यतः नेपालको दक्षिण भेगबाट आएका छिपाहरुको थर गुप्त रहेको छ ।
लेख: GR Ranjit


