प्रजापति (Prajapati)
नेवार समुदाय अन्तर्गत रहेका विभिन्न थरहरु मध्य प्रजापति पनि एक हुन । झट्ट हेर्दा प्रजाहरुको पति अर्थात राजा भनेको जस्तो देखिए तापनि नेपाल मण्डलमा यी थरका मानिसहरु कुनै राजा वा राजनीतिसंग सम्बन्धित रहेको भने देखिन्दैन । संस्कृतिविद सत्यमोहन जोशीका अनुसार यी थरका मानिसहरु दक्ष प्रजापतिका सन्तती हुन भनेका थिए । प्रजापतिलाई नेपाल भाषामा कुम्ह भनिन्छ । “कुम्ह” शब्द कुम्भकार शब्दबाट अप्रभंस भएर बनेको शब्द हो । कुम्भकार जातीका मानिसहरुले माटोको भाडाकुडाहरु बनाउने गर्दछन । यसै कुम्भकार शब्दबाटै कुम्भ र कुम्भबाटै कुम्ह भएका हुन । नेपाल भाषाका शब्द कुम्हलाई खसकरण गरि हाल कुमाले पनि भन्ने गर्दछ । यी कुम्हहरुको समूह तेह्रौं शताब्दी तिर बंगाली मुस्लिम शासक गयासुद्दिन तुगलकको आक्रमण पछि सत्ताच्युत भएपछि सिम्रौनगढका राजा हरिसिंहदेवसंगै सिन्धुली, दोलखा, पलाञ्चोक, हुन्दै भक्तपुर आएका थिए । नेपाल आउनेक्रममा कुम्हहरु समूहबाट छुटेर बाटो हराएपछि श्री तलेजु भवानीको पुजा गर्नाले पुन: बाटो मिलेर समूहसंग भेट भएको थियो भन्ने गरिन्छ । यस पुजालाई लांपुजा भन्ने गर्दछ । यो संस्कृती प्रजापतिहरुमा मात्र रहेको छ । लां भन्नाले बाटो हो । यसरी बाटो मिलोस भनेर गरिने पुजा नै लांपुजा हो ।
नेपाल मण्डल पुगिसकेपछि यिनीहरुले माटोकै भाडाहरु बनाएर बेच्ने गरे । सुरुसुरुमा माटोको भाडो बनाउदा जहिले पींढ फुटेर हैरान भएका थिए । हैरान भएका प्रजापतिहरुको सामु जहिले एउटा हाँस आई ‘फितिफिति’ आवाज निकालेर हिडेको आवाजले भाँडाेकाे पींढमा बालुवा राखेर पींढ सम्याउनेतिर चिन्तन गर्न पुगेर बालुवा राखेर हेर्दा साँच्चैनै भाँडाे नचुहिने भएकाे कारणले उप्रान्त पींढमा बालुवा राखेर भाँडाे बनाउन थाल्याे । अनि उप्रान्त हाँसलाई गुरु मान्न थाल्याे भन्ने जनश्रुति रहेकाेछ । फितिफितिको अर्थ नेपाल भाषामा “बालुवा हाल्नु बालुवा हाल्नु” हो । त्यसैले गर्दा भक्तपुरका तल्लो भेगका प्रजापतिहरुले हाँसको मासु खान्दैनन भन्ने गरिन्छ ।
जाडोको मीनपचासको बिदामा बिस्का जात्रामा घर पुग्ने गरि प्रजापतिहरु अन्य जिल्लाहरुमा युवाहरुकाे टाेली बनाई माटाे खाेजेर, माटाे भाँडाे बनाएर, आगाेमा पाेलेर, बजारमा लगेर बचेर अन्न र नगद आम्दानी गरेर घर फर्किने गरिन्छ । यसलाई “ज्या लूवानेगु” भनिन्छ । ज्या लूवानेगु गरि फर्केपछि सुर्य देवताको पुजा गरि भोज गर्ने गर्दछ ।
लेख: GR Ranjit
स्रोत: Jaya Ram Prajapati, Amrit Mishra


