लंदेव रंजितकारको धार्मिक यात्रा
मध्यपुर थिमी बालकुमारी टोलमा रंजितकार कुलमा लंदेव रंजितकारको जन्म भएको थियो । बि.सं १८६१ साल चैत्र ३० गते रोज ७ (ने.सं ९२५) मा राजा गिर्वाण युद्ध वीर बिक्रम शाहको पालाको उहाँ भक्तपुर, गोल्मधी टोलमा बसाइँसराइ गर्नु भएको थियो । बसाइँसराइ गरेको पाँच बर्ष पछि नेपाल सम्बत ९३० मा काभ्रेपलान्चोक स्थित नमो बुद्धको चैत्य सम्म दुंदायगु (शरीरले बाटो नाप्नु) गरि दर्शन गरेका थिए । फर्किने क्रममा भक्तपुरको गोल्मढीमा पुगेर त्यसदिनको आफ्नो यात्राको समाप्ती गर्ने क्रममा भगवान नमो बुद्धले दर्शन दिनु भएपछि उक्त स्थानमै नमो बुद्धको चैत्य निर्माण गर्नु भएको थियो । उहाँको भगवान प्रतिको श्रद्धा यतिमै रुकेन । त्यसपछि उहाँले एक ठूलो लक्ष्य लिनु भयो । त्यो एक असाधारण लक्ष्य थियो । भक्तपुरबाट भारतको काशी बिश्वनाथ सम्म दुंदायगु गरि जानू थियो ।

यसरी भक्तपुरबाट यात्रा सुरु गर्नु भयो । बर्षौ लगाएर भारतको काशी पुग्दा सम्म उहाँको शारीरिक अवस्था नाजुक भैरकेको थियो । शरीरमा केवल हाड र छाला मात्र बाँकी थियो । शरीर भरी आलो घाउ र घाउका खत मात्र थियो । यस्तो अवस्थामा पुगेको समयमा भगवान बिश्वनाथको दर्शन गर्ने लामो लाईनमा बसिरहेका दर्शनार्थीहरुको उहाँलाई छिछी र दुरदुर गरेपछि लाईन भन्दा हल्का पर बस्नु भयो । उहाँको यस्तो भक्तिभाव देखेर भगवान बिश्वनाथले हल्का तेर्सो भै उहाँलाई दर्शन दिनु भयो । यसरी भगवानले तेर्सो भै दर्शन दिनु भएकोले आज सम्म पनि बिश्वनाथको ज्योतिर्लिङ्ग हल्का तेर्सो छ भन्ने भनाई रहेको छ । यसै कारण हालसम्म पनि गोल्मढीको छिपा (वंतीको छिपा) भन्यो भने काशी बिश्वनाथको मन्दिरमा लाईन बस्नु पर्दैन भन्ने गरिन्छ ।

लेख: GR Ranjit
स्रोत: Ram Gopal Ranjit


