भैरव फल्चा एक डेटिङ पोइन्ट
Bhairav Falcha – Dating point
भक्तपुर नपा वडा नं ३ इछु टोलमा एक फल्चा रहेको छ जसको नाम भैरव फल्चा हो । स्थानिय भाषामा छ्क्वा फल्चा भनिने उक्त फल्चामा भैरवनाथ र नकिन्जु अजिमाको मिलन स्थान (Dating spot) भन्दा अलि आश्चर्य लाग्न सक्दछ । तर यो कुरोलाई स्थानियले मान्दै आएको छ । तसर्थ उक्त फल्चामा कोहिपनि बस्ने गर्दनन । विशेष गरि चैत २७ गते तानिने भैरवनाथको रथ यात्रा हुन ४ दिन पहिले (चैत २३ गते) नै नकिन्जु लिबि (चोक) मा रहेको द्य:छेंबाट भद्रकालीलाई भित्र आसनबाट बाहिर ल्याउने गर्दछ । भित्र आसनमा रहुन्जेल कसैलाई पनि पुजा गर्न दिन्दैनन भने जब आसनबाट बाहिर ल्याउदछ तब स्थानियहरुको लागि पुजा खुल्ला हुने गर्दछ । यसै समय भैरवनाथ आफ्नो श्रीमती भद्रकालीलाई भेट्न आउने गर्दछ र भेट्न आउँदा भैरव फल्चामा कुरेर बसिरहन्छ भन्ने मान्यता रहेको छ । यसरी कुरेर बस्ने भएकोले यस फल्चालाई प्रतीक्षा फल्चा पनि भन्ने गरिन्छ । चार दिन बाहिर राखेर पुजा गरेपछि २७ गतेका दिन गुठीका गुठीहारहरु आइ भद्रकालीको पुजा गरि रथमा बिराजमान गराई रथ यात्रा गर्ने गरिन्छ । २७ गतेको रथ यात्रा पश्चात् भद्रकाली मातालाई लैको (चपाले) मा अवस्थित द्य:छें मा राखिने गर्दछ । ३० गते पुन: रथमा राखी चुपिंघाटमा पुर्याइन्छ र भद्रकाली माताको मन्दिरमा राखेर पुजा आजा गर्ने गर्दछ । जसरी श्रीमान श्रीमती बिच मनमुटाव हुने गर्दछ । त्यसरी नै भैरवनाथ र भद्रकाली माता बिच पनि मनमुटाव हुने गर्दछ । यसै मनमुटावको प्रतीक बैशाख १ गतेका दिन यसिंद्य: धालेपछि गहिती टोलमा भैरवनाथको रथ र नकिन्जु अजिमाको रथ जुधाउने गर्दछ । तीन पटक रथ जुधाई पछि भद्रकाली माता रिसाएर पुन: इछु टोलमा अवस्थित आफ्नो घरमा आउने गर्दछ । यस समय पनि भैरव फल्चामा भैरवनाथ आएर बस्छ भन्ने मान्यता रहेको छ । आफ्नो श्रीमतीलाई फकाउन यसै फल्चामा आएर बसि रहन्छ भन्ने भनाई रहेको छ । यहाँ दुई दिन बसेपछि ३ गते बेलुका टौमढी टोलको चण्डिका माई संगैको फल्चामा राखिन्छ र भोली द्य:स्वगं बिएगुको सगुन थाप्ने गर्दछ । सगुन लिएपछि पुन: इछु टोलमै फर्काइन्छ र ८ गते सम्म स्थानियहरुलाई पुजा आजा गर्न लगाइन्छ । यस चार दिन पनि भैरवनाथ र भद्रकाली माता उक्त फल्चामा आएर मिलन हुने गर्दछ भन्ने गरिन्छ । र ८ गते साँझ पुन भित्र आसनमा राखेपछि सर्व साधारणले पुजा गर्न नपाउने भएकोले द्य:छें बाहिर रहेको दुई हात जोडिएको प्रतिमालाई नै भद्रकाली मानी पुजा गर्ने गर्दछ ।(माथी उल्लेखित मितिहरु सबै चैत महिनाको मसान्त ३० गते रहेको अवस्थामा लागू हुन्छ ।)
लेख: GR Ranjit
स्रोत: Dhaneshraj Rajopadhyaya, भारत चन्द्र हाडा


