चथा: पुजा (Chatha Puja)
नेपालका नेवार समुदायले विभिन्न पर्वहरू वर्षभरि नै मनाउँदै आएका छन् । यस्ता चाडपर्वहरू मध्ये चथा अर्थात गणेश चौथी पनि एक हो । यो पर्व भाद्र शुक्ल चौथीका दिन मनाइने गरिन्छ । यसलाई नेपाल भाषामा चथा भनिन्छ र यस दिन पुजिने देवतालाई चथा देवता भनिन्छ । यस दिन भक्तपुरको नवदुर्गा गणमा भगवान गणेशको सृष्टि हुने गर्दछ । त्यसैले यस दिनलाई गणेश चौथी पनि भन्ने गरिन्छ । यस दिन बिहानैदेखि भक्तजनहरू नजिकका गणेश मन्दिरमा गई पूजा, अर्चना गर्ने गर्दछन् । भगवान गणेशको पुजा बिहान गरेतापनी चथा: गणेशको पुजा भने चन्द्रमा देखेपछि रातिको समयमा गर्ने गरिन्छ । चथा: पुजा किन राती गरिन्छ भन्ने सम्बन्धी एक किंवदन्ती रहेको छ ।
भगवान गणेशको रुप माथी चन्द्रदेवले खिल्ली उदाएकोले गणेश क्रुद्ध भै चन्द्रदेवलाई सराप दिएको थियो कि अब उपरान्त कसैले चन्द्रको दर्शन गरे चन्द्र दोषलाग्ने छ जसले गर्दा मिथ्या चोरीको दोष लाग्ने छ । यसै सरापले गर्दा सबैले चन्द्रदेवको दर्शन गर्न छोड्यो । आफ्नो गल्ती महशुस गरि चन्द्रले भगवान गणेशसंग क्षमा माग्यो र गणेश प्रशन्न भै सबै सराप त फिर्ता लिन सक्दिन तर ञलथ्व चतुर्थी (चथा:) को दिन बाहेक अरु दिनको दोष क्षमा गरि दिए । त्यसैले चथा:को दिन चन्द्रमा हेर्नू हुन्न भनी आजसम्म पनि थिमीमा लुक्ने प्रचलन रहिआएको छ । द्वापरयुगमा भगवान कृष्णले चथा:का दिन चन्द्रमा हेरेको हुनाले मिथ्या चोर दोष लागेछ र उहाँ माथी स्यमन्तक मणिको चोरी तथा प्रसेनको हत्याको मिथ्या दोष लागेपछी श्री गणेशको पुजा गरि क्षमा माग्नाले उक्त दोषबाट मुक्त हुनु भयो र त्यसै दिन देखि चथा:को दिन श्री गणेशको पुजा गरि चन्द्र दोषबाट मुक्त होस भनी क्षमा माग्न गणेशको पुजा गर्ने प्रचलन चल्दै आएको हो । त्यसैले यसदिन चन्द्रमा हेर्नू हुन्न भन्ने मान्यता रहेको छ । यदि गल्तीले चन्द्रमालाई हेर्यो भने चन्द्र दोष नलागोस भनी क्षमा माग्दै गणेशको पुजा गर्ने गरेको हो । चथा: लाई दशैंकाे श्रीगणेश पनि भनिन्छ । चथाकाे २७ औं दिनमा घटस्थापना हुन्छ।चथा जस्ताेगरी मनाइयाे दशैंपनि त्यस्तै हुन्छ भन्ने जनविश्वस छ।त्यसैले चथामा पनि दशैंमाझैं भाेज बनाएरै खान्छन्,अदुवाकाे बाेट चढाइन्छ।
लेख: GR Ranjit
श्रोत: धनेश राज राजोपाध्याय


