मुनंकर्मी (Munankarmi)
नेवार समुदाय अन्तर्गत रहेका विभिन्न थरहरु मध्य मुनंकर्मी पनि एक हो । जसरी मारी (रोटी) बनाउने लाई मारिकर्मी, सिं (काठ) को काम गर्ने लाई सिकर्मी र ल्वहं (ढुङ्गा) को काम गर्नेलाई ल्वहंकर्मी भनिन्छ त्यसरी नै मुनं बनाउनेलाई मुनंकर्मी भनिन्छ । मुनं शब्द नेपाल भाषाका दुई शब्दहरु मिलेर बनेको हो । “मु” भन्नाले मुख्य हो भने “नं” भन्नाले लुगालाई जनाउदछ । यसरी मुख्य लुगालाई मुनं भन्ने गरिन्छ । कस्तो बस्त्रलाई मुख्य लुगाको रुपमा लिइन्छ भन्ने प्रश्नको उत्तरमा तलेजु भवानीलाई चढाउने बस्त्रलाई मुख्य लुगाको रुपमा लिने गर्दछ । तलेजु भवानीलाई लगाई दिने बस्त्रलाई मानंमुनं भन्ने गर्दछ भने तलेजु भवानीले लगाउने सारीलाई “ईहिंप्रासी” भनिन्छ । तसर्थ मानंमुनं र ईहिंप्रासीलाई मुख्य लुगाको रुपमा लिने गर्दछ । यहि मानंमुनं र ईहिंप्रासी बनाएर चढाउनेहरुलाई नै मुनंकर्मी भन्ने गर्दछ । मुनंकर्मीहरुले आफ्नो आगंछेँमा बसेर उक्त लुगा बुन्ने गर्दथे ।
लेख: GR Ranjit
स्रोत: Ram Gopal Ranjit , Purna Munankarmi


