मानन्धर (समि/सायमी)
नेवार समुदाय भित्र विभिन्न थरका मानिसहरु रहेका छन । यसै मध्य एक थर मानन्धर पनि हुन । “मानन्धर” एक खस शब्द हो भने यस जातिलाई नेपाल भाषामा “समि” वा “सायमी” भन्ने गर्दछ । यो शब्द नेपाल भाषाको “स:” र “मि” दुई शब्दहरु मिलेर बनेको हो । “स:” भन्नाले तेल पेल्ने मेसिनलाई जनाउदछ भने “मि” भन्नाले मालिक वा धनी भन्ने अर्थ लाग्दछ । यसरी तेल पेल्ने मेसिन भएकाहरुलाई समि/सायमी भनिन्छ । काठमाण्डौ र पाटन तिर यी मानन्धरलाई सायमी भन्ने गर्दछ भने भक्तपुर तिर समि भन्ने गरिन्छ । यस थरका मानिसहरुको मुख्य पेशा भनेकै खाने तेल उत्पादन गर्नु हो । मानन्धरहरुले ३२ प्रकारका खाने तेलहरु उत्पादन गरेतापनि मुख्य रुपमा तोरीको तेल उत्पादन गर्ने गर्दछ ।
तोरी भुटेर उत्पादन गर्ने तेलको सुगन्धले त्यस क्षेत्र मानन्धरहरुको हो भनेर टाढैबाट चिनारी दिइरहेको हुन्छ । तेल पेल्ने मुख्य पेशा रहेकै कारण यी थरमा मानिसहरुले भक्तपुरमा मनाइने इन्द्रजात्रामा या:मता ल्याउने गर्दछ । मल्लकालमा भक्तपुरलाई तीन भेग (माथिल्लो, मध्य, र तल्लो) मा वर्गीकरण गरेका थिए । उक्त तीनै भेगमा दुई दुई वटा स:मिलहरु थियो । यसरी दुई दुई वटा स:मिल भएको कारण इन्द्रजात्राको अन्तिम तीन दिनमा हरेक दिन दुई वटा या:मता ल्याउने प्रचलन थियो । तर मध्य भेगमा रहेको एउटा स:मिल राज्यले लिएको कारण अन्तिम दिनको अघिल्लो दिन एक वटा मात्र या:मता ल्याउने गर्दछ । त्यस्तै काठमाडौको प्राचीन सहरभित्र न्हेसा: सायमी भनेर ७ वटा मुख्य सा:मिलहरु छन । त्यस्तै मानन्धरहरुले नै भक्तपुरमा मनाइने बिस्का जात्रामा तान्ने भैरवनाथको रथको अघिल्लो स्थानमा राखिने बेतद्य: (बेताल भैरव) बोकेर ल्याउने गर्दछ ।
लेख: GR Ranjit


