कुशादेवी (Kushadevi)
कुशादेवी नेपालको बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित रहेको छ । यहाँ कुशादेवी मन्दिर अवस्थित रहेकाले यसै मन्दिरको नामबाट यस स्थानको नाम कुशादेवी रहन गएको हो । यस कुशादेवीको पुरानो नाम भने बिहावर हो । बिहावर बस्तीको पूर्वमा पनौती नगर, पश्चिममा रयाले, उत्तरमा साँगा भञ्ज्याङ र दक्षिणमा भूमिडाँडा रहेका छन् । यहाँ कुशको देवी बनाएर मंसिरे पूर्णिमाका दिन मेला गरिन्छ । कुशको देवी बनाएर जात्रा पनि चलाइन्छ । झलमल्ल हिमाल मुनिको वस्ती कुशादेवी पर्यटकीय दृष्टिकोणले एकदम रमणीय क्षेत्र हो । त्यहाँबाट कञ्चनजंघादेखि माछापुच्छेसम्म हिमालको लामो लर्कन देख्न सकिन्छ । कुशादेवीमा दुई नदीको संगम रहेको छ । ती दुई खोला मध्य एक लीलावती फूल्चोकीबाट बगेकी हुन भने सुवर्ण गंगा आशापुरीबाट बगेकी हुन् ।

लीलावती पनौतीमा मिसिएपछि रोशी खोलाको नाउँले चिनिन्छ । पश्चिममा रहेको रयालेको ३खुट्टेमा अवस्थित देउती बज्यै (जसले बिहावर ठाउँलाई पालन पोषण गर्नुभयो ।) को मन्दिरमा रहेको ताम्रपत्रका आधारमा देउती बज्यैका तीन छोराहरुको बिबाह पश्चात् भक्तपुरका राजाले वर दिइएको कारण यस स्थानको नाम बिहावर हुन गएको भन्ने भनाई रहेको छ । यो इतिहाँस भक्तपुरको राजदरवारको ताम्रपत्रमा पनि उल्लेख थियो । तर हाल उक्त ताम्रपत्र पुरातत्वमा रहेको छ भन्ने गरिन्छ । कुशादेवीबाट पर्खचौर हुँदै काभ्रेको मानेदोभान पुगिन्छ । मानेदोभान एउटा बजार हो । मानेदोभानमा सेतो माने रहेको छ जसलाई बौद्धमार्गीहरु छोर्तेन भन्छन् । त्यसैगरी दुइटा खोला फूल्चोकी र मुरली खोलाको दोभान छ । माने र दुई खोलाको दोभान भएकाले मानेदोभान नाम रहन गएको भनाई रहेको छ । यातायात नचल्दा पूर्वको नाकाको रुपमा यसैलाई लिने गर्दथ्यो । काठमाडौंबाट लाँकुरी भञ्ज्याङ हुँदै पूर्व सिन्धुली, दाप्चा जाने नाका थियो । अचेल मानेदोभानमा ट्राउट माछा पालन गरिएको छ । जसका कारण पर्यटन प्रवर्द्धन हुन थालेको छ । कुशादेवी क्षेत्रमा रहेको प्याराग्लाइडिङका कारण पनि पर्यटन प्रवर्द्धन हुन पुगेको छ । वर्षैभरि घुम्न मिल्छ कुशादेवी क्षेत्रमा चैत–वैशाखमा फुल्ने गुराँसले सुन माथी सुगन्ध थपिएको छ ।
लेख: GR Ranjit
स्रोत: Dsuresh Sapkota



