
भैल स्वंमा (Bhaila swama)
नेवा समुदायमा प्रयोग गरिने विभिन्न प्रकारको भाडाकुडाहरु मध्य एक भैल स्वंमा हो । भैल स्वांमाको अर्थ भैरवको आकृती कुंदिएको स्वंमा हो । यहाँ स्वंमा भन्नाले छ्याङ (थ्व) राख्ने भाडो हो । सामान्य स्वंमामा भैरवको आकृती कुंदिएको हुन्दैन भने भैल स्वंमामा भैरवको आकृती कुंदिएको हुन्छ । हुनत छ्याङ राख्ने घ्याम्पो वा स्वंमालाई पनि भैरवको प्रतिकको रुपमा लिने गर्दछ । यस्तो भाडोहरु सामान्य दिनहरुमा प्रयोग गरिन्दैन । मुख्य गरि गुठीको भोजहरुमा यस प्रकारको भाडोको प्रयोग गर्ने गर्दछ । गुठीमा विभिन्न प्रकारका थ्व (छ्याड) राख्ने गर्दछ । जस्तैकी थ्व, ह्यौ थ्व, मुति थ्व, ताकु थ्व, भ्याबर थ्व, द्य: थ्व आदि । यी विभिन्न प्रकारका थ्व हरु मध्य विशेष गरि द्य: थ्व राख्नको लागि यो स्वंमाको प्रयोग गर्ने गर्दछ । द्य: थ्व भन्नाले देवताको छ्याङ भन्ने अर्थ लाग्दछ । कस्तो छ्याङलाई देवताको छ्याङ भनिन्छ भन्दा गुठी गर्ने समय भन्दा केही दिन अगि गुठीको देवता ( विशेष गरि भैरव मान्नेहरुले) राखेको कोठा मै छ्याङ बनाउने सम्पुर्ण सामाग्री लागेर उक्त कोठा मै पुलुले बेरेर छ्याङ तयार पारिन्छ भने उक्त छ्याङलाई द्य: थ्व भन्ने गरिन्छ । यसै द्य: थ्व राख्ने भाडोलाई भैल स्वंमा भनिन्छ । यो भाडो माटोले बनाएको हुन्छ । प्रजापतिहरुले बनाएको स्वंमामा मुर्तिकारले भैरवको आकृती कुंदिएको हुन्छ । यसरी माटोको भाडोमा छ्याङ राख्नाले छ्याङ चिसो हुने गर्दछ जसले गर्दा छ्याङको स्वाद मीठो हुने गर्दछ ।
लेख: GR Ranjit


