
कुटुव (Kutuwa)
राजा भूपतिन्द्र मल्लले सन १७०२ मा निर्माण गर्न लगाएको पाँचतल्ले (ङातापोल) मन्दिरको पहिलो सिढीमा दुई विशाल शरीर भएका स्थानिय भाषामा कुटुव भनिने मानिसहरुको शालिक स्थापना गरेका थिए । ती पहलवानहरुलाई हेर्दा मल्ल युद्ध गर्ने योद्धाहरु जस्तो देखिन्छ । ‘मल्ल’ एक संस्कृत शब्द हो, जसको अर्थ युद्धमा पोख्त व्यक्ति, पहलमान वा कुस्तीबाज भन्ने बुझिन्छ। स्थानिय भाषा कुटुवको अर्थ पनि एकदम खाई लाग्दो ठूलो ज्यान भएको भन्ने अर्थ लाग्दछ । यी मोटो ज्यान भएका ती दुई ब्यक्तिहरु को थिए भन्ने प्रश्नको उत्तरमा तिनीहरु चित्तोरगढ (हालको राजस्थान) का वीर योद्धाहरु जयमल राठौर र फत्तेसिंह सिसौडिया हुन । जयमल राठौर र फत्तेसिंह मामा र फूपूका छोराहरु थिए । तिनीहरु तत्कालीन चित्तोरगढका किल्लाका वीर राजपुत किल्लापतिहरु थिए । त्यस समयमा उक्त किल्लामा भएको बादशाह अकबरको हमलामा भएको भीषण युद्धमा किल्लाका सेनापति जयमल राठौड र फत्तेसिंह सिसौडियाले बहादुरीका साथ युद्ध गरेका थिए । यी दुई वीरहरुको वीरता र बहादुरीबाट प्रभावित भएर बादशाह अकबरले लालकिल्लामा तिनीहरुको शालिक बनाएर राख्न लगाएका थिए । यी जयमल राठौरका सन्ततिहरु मध्य एक गणपत सिंह राठौर उक्त आक्रमणबाट बचेर नेपाल आएका थिए । नेपालमा आएर राजकाजमा सेवा गर्ने मौका पाएपछि राजाका बिश्वास पात्रको रुपमा काम गर्ने थाले । उनै गणपत सिंह राठौरका नाति श्याम सिंह राठौर यति धेरै राजा जितामित्र मल्लका भक्त थिए कि राजा उठ्नु अगि दरवार पुग्थे । यसरी कुखुरा बास्न अगि नै राजदरबार पुगेकै कारण ग्वंगल भनेर उपनाम पाएका थिए । उनै श्याम सिंहका पाँच छोरा मध्य काँइला छोरा चुकुढिक ग्वंगल राजा भूपतिन्द्र मल्लका सामिप्यमा रहि काम गरेका थिए । ग्वंग (राठौर) हरुको पुरै पुर्वजहरुले राजदरवारमा बिश्वासिलो भई काम गरेको र उनिहरुका पुर्वजले वीरता पूर्वक लडाइँ गरेको गाथा सुनेर राजा भूपतिन्द्र मल्लले जयमल राठौर र फत्तेसिंह सिसौडियाको शालिक ङातापोलको मन्दिर अगाडि राखिएको हो भन्ने जनश्रूति रहेको छ ।
लेख: GR Ranjit
स्रोत: सञ्जीव ग्वंगल


