सापारु/गाईजात्रा (Saparu/ Gai Jatra)

नेपाल सम्बतको गुंलागा प्रतिपर्दाको दिन विशेष गरि काठमाडौ उपत्यकामा गाईजात्रा मनाउने गर्दछ । तर यो जात्रा काठमाडौ उपत्यकामा मात्र नभइ उपत्यका बाहिर पनि मनाउने गर्दछ । जस्तै कि बनेपा, धनकुटा, दोलखा, खोटाङ, चैनपुर, भोजपुर, धरान, इलाम, बिरगंज, गोरखा, बिराटनगर, हेटौंडा, पोखरा, बेनि, लमजुङ आदि । मुख्य त आफ्नो गुमेका परिवारजनहरुको स्मृतिमा मनाउने यो जात्रा आजकल हास्यब्यङ्गको रुपमा पनि मनाउने गर्दछ । जयस्थिति मल्लले लेख्न लगाएको भाषा बंशावलिमा गुन्हु पुन्ही उल्लेख भएको कारण यो जात्रा भक्तपुरमा धेरै पहिले देखि नै चलिआएको देखिन्छ । सायद यही जात्रालाई काठमाण्डौमा चाही राजा प्रताप मल्लको पाला देखि शुरू गरेको हुनसक्छ । सन १६६९ मा राजा प्रताप मल्लले आफ्नो छोरा चक्रभतेन्द्र मल्लको हातीले कुल्चेर भएको मृत्युको बियोगमा रहेकी रानी भुवनलक्ष्मी मल्ललाई उनका छोरा मात्र होइन संसारमा धेरैको मृत्यु भैरहेको हुन्छ । मृत्यु भनेको प्राकृतिक हो भनेर देखाउन यो जात्राको सुरुवात गरेको थियो । राजाले रानीलाई हँसाउन सक्ने गरी आफ्ना जनताका लागि एक हप्तासम्म बोल्न पाउने स्वतन्त्रताको अनुमति पनि दिनुभयो, जसले गर्दा नेपाली संस्कृतिमा व्यंग्यलाई प्रमुख स्थान दियो । भक्तपुरमा भने राजा जगतप्रकाश मल्लको पालामा यो जात्राको सुरुवात भएको थियो । तर संस्कृतविदहरुका अनुसार यो जात्रा मल्लकालिन नभै लिच्छविकालमा साँढे जुधाएर मनाउने गर्दछ भने गोपालबंशमा “सायात” शब्द थियो । “सा” को अर्थ गाई र “यात”को अर्थ जात्रा हो । समयसंगै सुरुवात भएको यस जात्रा एक धार्मिक आस्थासंग जोडिएको छ । उक्त आस्था अनुसार गाईको पुच्छर समातेर वैतरणी नदि पार गरि स्वर्गमा पुगिन्छ भनेर आफ्नो मृतक परिवारजनलाई स्वर्गमा पुर्याउन गाई बनाई देश परिक्रमा गरिन्छ । यस जात्रालाई नेपाल भाषामा सापारु भनिन्छ । सापारु शब्द “साँ” र “पारु” शब्दहरुबाट बनेको हो । साँ भन्नाले गाई हो भने पारु भन्नाले प्रतिपर्दा हो । यसरी साँ(गाई) बनाएर नगर परिक्रमा गर्नाले मृतकले स्वर्गको बास पाउछ भन्ने जनबिश्वास रहिआएको छ । साँ बनाउने तरिका भने देश अनुसार फरक फरक रहेको छ । काठमाडौमा मृतकका नातीहरुलाई साँ बनाउदछ भने भक्तपुरमा ताहासाँ, ताहामचा, माटोको साँ वा साना नानीहरुलाई महादेव पार्वती बनाइन्छ (बाछा लुकेगु) । ताहासाँ भनेको भक्तपुरमा मात्र नभै अन्य नेवार शहरहरुमा पनि बनाइन्छ । जस्तै कि बनेपा, धनकुटा, गोरखा, बेनि, लमजुङ तिर पनि तहासाँ बनाउने गर्दछ । यस दिनको साँझ पख परालको भैरवनाथ र भद्रकालीको ताहामचा ल्याएपछी जात्राको अन्त्य हुन्छ । राजाले एक हप्ता सम्म बोल्ने स्वतन्त्रता दिएको कारण यो जात्रा ७ दिन सम्म चल्ने गर्दछ । सापारुको भोलिपल्ट दिकु (खाली) हुने गर्दछ । तेस्रो दिन देखि ख्याल (नाटक), देवी प्याखं, भैल प्याखं, माक प्याखं, गाईचा प्याखं, आदि ल्याएर टोल टोलमा देखाउने गर्दछ । यो सम्पुर्ण नाटक तथा नाचहरु साँझ/बेलुका ल्याउने गर्दछ भने दिउँसो माक प्याखं, नागाचा प्याखं, नाटकीय घिन्ताङ घिसी ल्याउने गर्दछ ।
लेख: GR Ranjit


