ह्वाङ ह्वाङ फल्चा (Hwan Hwan Falcha)
भक्तपुर वडा नं १ मा अवस्थित रानी पोखरीको मुख्य द्वारका रुपमा रहेको एक फल्चाको नाम ह्वाङ ह्वाङ फल्चा हो । राजा जगत ज्योती मल्लद्वारा आफ्नो रानी राजलक्ष्मीको सम्झनामा निर्माण गर्न लगाएको यस पोखरी, प्राप्त शिलालेख अनुसार बि.सं १६८७ (सन १६३०, ने.सं ७५०) सालमा निर्माण गर्न लगाएका थिए । सुन्दै अनौठो लाग्ने यस फल्चाको नाम सम्भवत कोहि मानिस नबस्ने (नजाने), कोहि जाने समय ह्वाङ ह्वाङ आवाज आउने भएरै यस फल्चाको नाम ह्वाङ ह्वाङ फल्चा रहन गएको थियो । राजाहरु यस पोखरीमा आउँदा चडेर आएको घोडा बाँड्न मिल्ने गरि यस फल्चाको डिजाइन गरिएको छ । यस फल्चामा घटेको एक ईतिहास यस प्रकार रहेको छ । बि.सं १८२६ मा राजा पृथ्वीनारायण शाहले तीन दिन भक्तपुर माथी लडाइँ गरि भक्तपुर जिते । उनको यस जीतमा राजा रणजित मल्लका केहि छोराहरु (भाजुराजाहरु) ले पनि साथ दिएका थिए । जीत पश्चात् केही भाजुराजाहरू पृथ्वीनारायण शाहले पहिले नै दिएको वचन अनुरुप भक्तपुरको राजा होलान भनी राज्य माग्न जाँदा पृथ्वीनारायण शाहले उल्टो आफ्नो बाबुलाई धोका दिने गद्दार तिमीहरूले मलाई के छोड्छौ? भनी उनीहरूको नाक काट्न लगाई सर्वस्व हरण गरि उनीहरूलाई काठमाडौंको कारागारमा कैद गरे । भाजुराजाहरु मध्य एक अवधूत सिंह मल्लले पृथ्वीनारायण शाहलाई मार्न बनाएको योजना अनुसार भक्तपुरको न्हू पुखु (रानी पोखरी) मा रहेको ह्वाङ ह्वाङ पाटीमा लुकेर बसेका सर्दार भवानी सिंहले जब पृथ्वीनारायण शाह माथी आक्रमण गरियो तब तरवार म्यानमा अड्किनाले अंगरक्षक हर्ष पन्थले भवानी सिंहलाई त्यहीँ मारिदिए । यो नै पहिलो भक्तपुर विद्रोह थियो जुन असफल भयो । यसरी पृथ्वीनारायण शाह विरुद्ध भएको पहिलो भक्तपुर विद्रोह यसै फल्चामा भएको थियो ।
लेख: GR Ranjit


