जुजु फाल्चा (Juju Falcha)
जुजु फल्चा भन्नाले राजाको फल्चा वा पाटी भन्ने अर्थ लाग्छ । जुजु फल्चा एक नेपाल भाषाको शब्द हो । जुजु भन्नाले राजा हो भने पाटीलाई नेपाल भाषामा फल्चा भन्ने गरिन्छ । यसरी राजा बस्ने फल्चा भएको कारण यस फल्चालाई जुजु फल्चा भनिएको हो । यो फल्चा भक्तपुरको वडा नं ५ टिबुक्छेंमा अवस्थित थियो भने हाल यसको कुनै अस्तित्व नै छैन । मल्लकालिन यस फल्चाको ऐतिहासिक महत्व रहेको छ । मोहनी नख (दशैं) को महानवमीको दिन जीवितदेवीका रूपमा पुजिने भक्तपुरको एकान्तकुमारी, भैरव र गणेशसहित ११ कुमारीको पूजा गरी कुमारीजात्रा मनाइन्छ । यसरी कुमारीजात्रा गर्दा गोल्मढी हुन्दै चासुखेलमा रहेको एकान्तकुमारी घरमा राखेर पुजा आजा गर्ने गर्दछ । उक्त स्थानमा दरवारबाट जुजु (राजा) सहित भई कुमारीलाई लिन आउने गर्दछ । जुजु यसै फल्चामा बसि रहन्छ भने उहाँका काजीहरु आएर कुमारीलाई ससम्मान लगिन्छ । यसरी जुजु कुरेर बस्ने भएकोले यस फल्चाको नाम नै जुजु फल्चा रहन गरेको थियो । हाल जुजु नरहेको अवस्थामा तलेजुबाट राजाको तरबार मात्र ल्याउने गर्दछ । उक्त तरबारलाई नै राजाको प्रतीकको रुपमा मान्दछ । यसरी राजा बस्ने फल्चाको हाल कुनै अस्तित्व नै छैन । उक्त स्थानमा हाल फलफूल पसल रहेको छ ।लेख: GR Ranjit


