दाप्चा (दच्व) Dapcha

दाप्चा (दच्व) Dapcha
नमोबुद्ध नगरपालिकामा रहेको एक बस्तीको नाम दाप्चा हो । यस बस्तीमा मुलतः नेवार, तामाङ, र ब्राम्हणहरु बसोबास गरेको पाइन्छ । यस स्थानको नामाकरण कसरी दाप्चा रहयो भने बारे यहाँ बसोबास गर्ने बासिन्दाहरुमा छुट्टाछुट्टै कथन रहेको पाइन्छ । नेपाल भाषामा यस स्थानको नाम दच्व हो । यसै दच्व शब्द अप्रभंस भएर दाप्चा भएको भन्ने गरिन्छ । दच्व नेपाल भाषाका दुई शब्दहरु मिलेर बनेको पाइन्छ । “द” को अर्थ दह हो भने “च्व” भन्नाले माथी भन्ने अर्थ लाग्दछ । महादेवले समुन्द्र मन्थन गर्दा निस्केको कालकुट बिष पिएपछि बिषको दाहा सहन नसकेर गोसाइँकुण्ड जानेक्रममा पाईला तेकेको स्थानमा पानी जमेर दह बनेको थियो । यस दहको माथी रहेको बस्ती भएकै कारण यस स्थानको नाम दच्व भएको भन्ने गरिन्छ । यसै दहलाई हाल दराउने पोखरी भनिन्छ । त्यस्तै तामाङहरुका अनुसार कुनै समय भक्तपुरका एक राजालाई रोग लाग्दा राज बैद्यहरुले जति गर्दा पनि रोग निको नभएपछि एक लामा बैद्यलाई बोलाई उपचार गर्दा रोग निको भए । राजा खुशी भई बैद्यलाई आफ्नो क्षेत्र भित्र जति घुम्न सक्छ त्यति क्षेत्र दिने घोषणा गरे पछि वैद्य घोडा लिई रुखहरुमा आफू पुगेको चिन्ह लगाउदै गए । यसै स्थानमा पुग्दा खुकुरीको दाप हराएको कारण यस स्थानको नाम दाप्चा भएको भन्ने गरिन्छ । यसरी बनेको दाप्चा बस्ती त्यसताकाको पूर्वी नाकाको रुपमा प्रख्यात थियो । सिन्धुली, भकुन्डेबाट दाप्चा, संखु, पनौती हुन्दै नेपाल मण्डल छिर्ने गर्दथ्यो । एक प्रकारले भन्ने हो भने दाप्चा पूर्वको ब्यापारिक केन्द्र थियो । बिपि राजमार्ग बनेपछि भने यस स्थानका मानिसहरु बसाइँसराइ गरि बनेपा र काठमाण्डौ सर्न थाले ।
विभिन्न स्थानमा रहेका नेवारहरुको भाषामा भिन्नता रहेको पाइन्छ । तर यहाँका नेवार समुदायको भाषा भने भक्तपुरको भाषासंग मिल्दछ । यस अर्थले दाप्चामा रहेका नेवारहरु भक्तपुरबाट सरेका हुन भनी भन्न सकिन्छ । हुनत पृथ्वीनारायण शाहले भक्तपुर जितेपछि मल्ल राजकाज सम्बन्धी ब्यक्तिहरुले भक्तपुर छोडेका घटनाहरु भए, रणबहादुर शाहका पालामा विफल लागेकाहरुलाई देश निकाला गरेका घटनाबाट देश छोडेकाहरु यस स्थानमा आएर बस्ती बसालेको हुन सक्दछ । भक्तपुर बाहेक पाटन र काठमाण्डौबाट पनि यहाँ बसोबास गर्न आएका छन । झट्ट हेर्दा पूर्वको बन्दीपुर जस्तो लाग्ने दाप्चा बजार शान्त र सुन्दर छन । प्राकृतिक सुन्दरताले भरिपूर्ण यस बजारको मुख्य देवता भनेको दाप्चा भिमसेन हो । ४०० बर्ष पुरानो यस भिमसेन परिसरमा श्री कृष्ण जन्माष्टमीका दिन विशेष जात्रा समेत लाग्ने गर्दछ । दाप्चामा मनाउने चाडपर्वहरुमा १. सिथिनख: २. गथेमंग (घण्टाकर्ण) ३. क्वाती पुन्हि ४. सापारु (गाईजात्रा) ५. कृष्ण रथ यात्रा हुन । सापारुका दिन देखि ९ दिन सम्म मनाइने जात्राहरुमा गाईजात्रा, देवी भैरव नाच, कृष्ण जन्माष्टमी, लगायत भिमसेन रथ यात्रा, हिलेजात्रा, असारे जात्रा हुन । भाद्र कृष्ण पञ्चमीका दिन भिमसेन जात्रा हुने गर्दछ भने यसको लगत्तै देवी भैरव नाच, सुम्भ, निसुम्भ बध नाच र कृष्ण जन्माष्टमी र नवमीका दिन कृष्ण रथ यात्रा यहाँ मुख्य जात्रा हुन ।
लेख: GR Ranjit