बनेपा (भोंत)
काठमाण्डौं उपत्यकाबाट पुर्व तिर रहेको एकदम पुरानो नेवार बस्ती रहेको एक शहरलाई भोत भनिन्छ । प्राचीनकालमा भोंत भनिएपनि हाल बनेपा नामले प्रसिद्ध पाएको यस नगर राजा आनन्ददेवले निर्माण गरेका थिए । बनेपामा पहिले ‘भोलाखा’ भन्ने बस्ती मात्र थियो रे । तर कलिगत वर्ष ४१९७ अर्थात् वि. सं. ११५९ मा पूर्व मध्यकालीन राजा आनन्ददेवले बनेपा वरिपरिका स-साना बस्तीहरू भोलाखाबस्तीसँग मिलाई नयाँ बनेपाको निर्माण गर्दा आठ दिशामा आठ गणेशहरू दिक्पालका रूपमा प्रतिष्ठापन गरी प्रत्येक गणेशको मन्दिर समीप ढोका, पोखरी र पाटी बनाइदिएका थिए । त्यसैले मल्लकालदेखि नै बनेपामा यी आठैवटा गणेशहरूसँग सम्बन्धित एउटा-एउटा दाफा भजन थिए । उहाँले स्थापना गरेका अष्ट बिनायकका साथै रुद्रमति नदिको किनारामा चण्डेश्वरी मन्दिरको निर्माण पनि गर्न लगाइ देवीको लागि कोषको पनि व्यवस्था गरेका थिए । राजा आनन्ददेवले चण्डेश्वरी देवीको कृपा र निर्देशन पाएपछि सात गाउँ स्थापना गरेका थिए ।• चण्डेश्वरी पिठा नजिक बनेपा
• धनेश्वर नजिकै श्रीखण्डपुर
• नेपालको प्रयाग तीर्थ नजिक पनौती
• नाला भगवती नजिकै नाला
• नारायण नजिकै धुलिखेल
• चौकोरा ऋषिको बासिन्दा नजिकैको चौकोट
• नासिका पिठा नजिकै सांगा
यसरी बनाएको बनेपा शहरमा रहेका अष्ट बिनायकहरुमा
• तुकम्प्वो गणेश: दक्षिणमा
(तुकम्पवो गणेशको मन्दिर बनेपाको नयाँ राज्य बनाएपछि अन्य सबै गणेश मन्दिरहरूमध्ये सबैभन्दा पहिले राजा आनन्ददेव मल्लले स्थापना गरेका थिए । यो बनेपाको प्रमुख मन्दिर पनि हो ।)
• कोभ: गणेश दक्षिणपूर्वमा
• वकु गणेश पूर्वमा
• थाछु गणेश उत्तरमा
• कान्थु गणेश उत्तरपूर्वमा
• क्वोंला गणेश दक्षिणपश्चिममा
• तलापुखु गणेश पश्चिममा
• ज्यासनानी गणेश उत्तरपश्चिममा
बनेपालाई नेपाल भाषामा भोंदेय् वा भ्वँत (भोंत) भन्ने गरिन्छ । सम्भवत तिब्बत (भोत) संगको ब्यापारको मुख्य केन्द्रको रुपमा रहेका कारण पनि यस नगरलाई भोंत भनिएको हो । बनेपा शब्द पनि वणिर्पुर, बनेकापुर, बनेपुर, ब्यनेपे, बिन्यापा, विनयापुरी, विनायकपुरी, वनिंयप्य भनिँदै पछि ‘बनेपा’ हुन आएको हो भन्ने गरिन्छ । बनेपालाई ‘भुज’ पनि भन्ने गरिन्थ्यो । बनेपामा रहेको लिच्छविकालीन शिवदेव अंशुवर्माको अभिलेखमा यसको चार किल्ला खुलाउदा ‘चन्द्रेश्वर (चण्डेश्वरमहादेव) ङ ग्रामस्तत’ उल्लेख भएकाले बनेपा नै भुजङग्राम हुनुपर्ने देखिन्छ । ‘ङ ग्राम’ भनी उल्लेख भएको यो ठाउ किरातकालमा नै गाउका रूपमा विकसित भइसकेको हुनुपर्दछ । किनभने नालङ, साङ, खोप्रिङ आदि ङ, ∙ आएका बस्तीहरूले ती बस्तीहरू किरातकालीन हुन् भन्ने बुझाउछन् । राजा अभय मल्लको शासनकालको चागुनारायणको भण्डारभित्रको ने. सं. ३५७ को एउटा ताडपत्रमा बनेपालाई ‘बनिंयप्य’ उल्लेख गरिएको छ । त्यस्तै, बनेपाका राजा जयार्जुनदेवको नाम उल्लेख भएको ने. सं. ४८५ को एउटा ताडपत्रमा यस शहरलाई ‘विनयापुरी’ उल्लेख गरिएको छ ।
बनेपा निर्माण गर्दाको संरचना अत्यन्तै वैज्ञानिक किसिमको थियो । घाम र हावाको सन्तुलन मिलाउनका लागि ठाउठाउमा ननि (चोक) हरू, पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनारहरू, सांस्कृतिक कार्यक्रमहरू गर्न र नाटक देखाउन डबलीहरू राखी निर्माण गरिएको बनेपा अत्यन्तै व्यवस्थित थियो । यहा नौवटा ढुङ्गेधाराहरू, नौवटा ननि (चोक) हरू, नौवटा डबलीहरू र ९९ वटा इनारहरू थिए । यसरी ९ अङ्क पारेर निर्माण गरिएको बनेपानगरी लक्षणयुक्त छ भनी बूढापाकाहरू भन्दछन्, किनभने शास्त्रीय दृष्टिकोणले ९ अङ्क लक्षणयुक्त र फलदायी हुन्छ । तर धेरैजसो इनारहरू पुरिइसकेका छन्, ढुङ्गेधाराको पानीका मुहानहरू सुकिसकेका छन्, धेरै ठाउका ननि (चोक) हरू अतिक्रमणमा परिसकेका छन् ।
‘गोपाल राजवंशावली’ मा उल्लेख भएअनुसार मल्लकालीन नेपालमा बनेपाक्षेत्रले राजनीतिमा ठूलो भूमिका खेलेको थियो । विशेषतः राम वर्द्धनहरूको राजनीतिमा ठुलै बाहुल्यता थिए । ज्योतिराम वर्द्धन त्यसताकाका महामन्त्री थिए । उनले बनेपालाई एक स्वतन्त्र राज्य बनाउन प्रयत्न गरेका थिए । ज्योतिरामका छोरा अनेकराम पनि महामन्त्री थिए । अनेकरामपछि जयसिंहराम बनेपाका राजा जयार्जुनदेवका महामन्त्री भए । वि. सं. १४११ मा जयस्थिति मल्ललाई भक्तपुरमा भित्र्याइयो । केही समयपछि राजकुमारी राजल्लदेवीसित उनको विवाह भयो । त्यसपछि जयस्थिति मल्ललाई नेपालका राजा घोषणा गरियो । अनि जयसिंहरामले राजा जयार्जुनदेवलाई मान्नुपर्छ, बाहिरबाट आएका जयस्थिति मल्ललाई हामी राजा मान्दैनौं भनी ४-५ वर्ष सम्म पूर्वी भेगको नेतृत्व लिई ठूलो विरोह गरेपछि जयार्जुनदेवको मृत्यु भयो । त्यसपछि जयस्थिति मल्लले जयसिंहरामलाई हातमा लिई आफ्ना महामन्त्री बनाए । जयस्थिति मल्लका महामन्त्री बनेपछि जयसिंहराम झन् शक्तिशाली बन्न पुगे । यसरी नेपाल राज्यमा गाँभिएको बनेपा नगर राजा यक्ष मल्ल सम्मका राजाहरुले शासन गरे । सन १४८२ मा राजा यक्ष मल्लको स्वर्गारोहण पश्चात् छोरा छोरीहरुमा राज्यको अंशबन्दा भए । जेठो छोरा राय मल्ललाई भक्तपुर, माइलो छोरा रण मल्ललाई बनेपा, कान्छो छोरा रत्न मल्ललाई काठमाण्डौ र छोरी धर्मवतीलाई पाटन परेछ । यसरी पुन: स्वतन्त्र बनेको बनेपा देशमा रण मल्ल पश्चात् केशब मल्ल र कृष्ण मल्ल राजा भएका थिए । बनेपामा राजा कृष्ण मल्लको शासन चलिरहेको बेला भक्तपुरमा राजा विश्व मल्लको शासनकाल थियो । राजा विश्व मल्ल कमजोर हुनाले शासनको बागदोर उनकी श्रीमती गंगा महारानीको हातमा थियो । गंगा महारानी कै नेतृत्वमा बनेपा माथी आक्रमण गरि पुन: बनेपालाई भक्तपुरमा गाँभिएको थियो । यसरी भक्तपुरमा गाँभिएको बनेपामा राजा रणजित मल्ल सम्मले शासन गरेका थिए ।
लेख: GR Ranjit


