पनौती (Panauti)
काठमाण्डौंबाट २६ कि.मी. दक्षिण पूर्वमा पर्ने एक नगरको नाम पनौती हो । पनौती शब्द नेपाल भाषाका शब्दहरु “पँ”, “ल्होँ” र “ती” मिलेर बनेको हो जसको अर्थ बाँस ढुङ्गामा राख्नु हो । यस बारे एक किंवदन्ती रहेको छ । गौतम ऋषिका पत्नी अहिल्या अति नै सुन्दर थिइन । उनको सुन्दरतामा स्वर्गका राजा ईन्द्र समेत मोहित भएका थिए । एकदिन ऋषि गौतम स्नान गर्न आफ्नो आश्रमबाट नदि तर्फ जान्दा गौतम ऋषिको भेष धारण गरि ईन्द्र उक्त आश्रममा पुगे । ऋषि गौतमको रुप धारण गरेका ईन्द्र र ऋषि पत्नी अहिल्या बिच रतिक्रिया भैरहेको बेला गौतम ऋषिले आफ्नो कमण्डलु बिर्सेर लिन फर्केर आउँदा आफ्नो रुपको पुरुषसंग आफ्नो पत्नीलाई देखेर रिसले अहिल्यालाई सरापी पथर बनाई दिए भने ईन्द्रलाई पनि सराप दिई शरीर भरी एक हजार योनी बनाईदिए । लाज सरम र ग्लानी बोकेर ईन्द्र स्वर्ग जान्दा त्यहाँ उनी घृणा, हास्य र खिसीको पात्र बन्न पुग्दछ । यो देखेर दु:खी भएकी सचीले आफ्नो गुरु बृहस्पतिसंग सल्लाह गरि पाप मोचनका निमित्त हालको पनौती स्थित लिलावती (रोसि खोला), पद्मावती (पुण्यमाता), र ब्रम्हायणीबाट गुप्त रुपमा बगेको रुद्रवतीको संगम स्थलमा आई भगवान महादेवको आराधना गर्दछ । यो देखेर महादेव खुशी भै दर्शन दिए र वरदान माग भन्दा गौतम ऋषिको श्रापबाट मुक्तिको मार्ग प्रस्त्याउनु भन्दा ईन्द्रले टेकेको बाँसको लौरोमा पालुवा आएपछि पापबाट मुक्त हुनेछ भनी महादेव अन्तरध्यान भए । १२ बर्षपछि एकदिन ढुङ्गामा राखेको बाँसको लौरोमा पालुवा आएछ । यस्तो कठोर तपस्या पछि महादेव प्रशन्न भै दर्शन दिई पाप मोचन गरि दिए । यसरी ईन्द्रले स्तुति गरेको महादेव भएको कारण यस शिवलिङ्गलाई ईन्द्रेश्वर महादेव भनियो । पथर भएकी अहिल्याको भने त्रेतायुगमा श्री रामको पाइलाको स्पर्शले नै मुक्त भएका थिए । १२ बर्षको तपस्या पश्चात महादेवले दर्शन दिएकै कारण १२ बर्षको मकर मेला लागेको हो । यसरी इन्द्रले ढुंगामा बाँस बिसाएकै हुनाले उक्त ठाउँको नाम पनौती रहन गएको विश्वास गरिन्छ । प्राचिनकालमा पाञ्चाल देशको नामले प्रसिद्ध रहेको यस नगरलाई नेपाल भाषामा पनाति पनि भन्ने गरिन्छ । यसै पनाति शब्द पछि गएर पनौती भएको भन्ने पनि गरिन्छ ।लिच्छविकालदेखि नै अस्तित्वमा रहेको यो नगरको विकास मल्लकालमा भएको पाइन्छ । राजा आनन्द मल्लको शासन काल (इ.सं.१२७४-१३०१) मा प्राचीन पनौतीको स्थापना भएको थियो । काभ्रेपलाञ्चोक जिल्लाका तत्कालिन सुब्बागाउँ, टौखाल, पनौती (इन्द्रेश्वर), मल्पी, सुनबान र खोपासी गाउँ विकास समितिलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर पनौती नगरपालिका घोषणा गरिएको थियो । यस नगरको प्रमुख पर्यटकीय एवं धार्मिक स्थल सचि तिर्थ हो जसलाई त्रिवेणि घाट (नेपाल भाषामा खोर्हे) भनिन्छ जुन लिलावती र पद्मावती, रुद्रवतीको संगम स्थल हो ।
लेख:GR Ranjit


