धुलिखेल (Dhulikhel)
काठमाण्डौं देखि ३० किमी पुर्वमा अवस्थित प्राचीन नेवार नगरको नाम धुलिखेल हो । अधिकांश भाग पहाडी भूभागले ढाकेको यस नगर नेवार बस्ती भएपनि मिश्रित जनजातिले बसोबास गरेको पाइन्छ । धुलिखेलको नामाकरण कसरी रहन गयो भन्ने सन्दर्भमा केही भनाईहरु पनि रहेको छ । धुलिखेललाई नेपाल भाषामा “धौख्य” भन्ने गरिन्छ । “धौ” भन्नाले नेपाल भाषामा दहि हो भने “ख्य” भन्नाले खुल्ला चौर भन्ने बुझिन्छ । यसरी यस नगरलाई राम्रो दहि पाउने स्थानको रूपमा चिनिन्थ्यो । यसै धौख्यबाटै कालान्तरमा धुलिखेल भएको भने भनाई रहेको छ । त्यस्तै अर्को पक्षको भनाई अनुसार यस स्थानलाई “धुंख्य” भन्दछ भन्ने पनि गरिन्छ । जसको अर्थ जंगलका बाघहरू खेल्ने डुल्ने ठाउँ भन्ने बुझिन्छ । यसैगरी अर्को थरीको भनाइ अनुसार अघिका यी बन्य सम्पदा मासेर मानिसहरूले बस्ती बसाल्दै लगेपछि उजाडिएका डाँडाकाडाँमा हुरी बतासले गर्दा धुलैधुलो उड्ने भएकोले यसको नाम धुलिखेल रहन गएको हो भन्ने पनि गरिन्छ । यस स्थानको नाम जसरी रहन गएपनि यस क्षेत्र प्राकृतिक सौन्दर्य, होचा-होचा हरिया पाटनहरू (घाँसे मैदान) ले भरिएको, स्वस्थ्यकर जलवायु भएको स्थानको रुपमा परिचित छन । हाल आएर पर्यटकिय स्थालको रुपमा परिचित यस नगरबाट मनोरम हिम शृङ्खलाहरु हेर्न सकिन्छ । यहाँबाट गगनचुम्बी हिमालहरु मध्ये मनास्लू, लमजुङ, गणेश हिमाल, गौरीशंकर हिमाल, लामटाङ, रोल्वालिङ, महालंगूर र कुम्भकर्ण हिमालयहरू देखिन्छन् । चिकित्सा एवं शिक्षामा एकदम अगाडि रहेको यस नगर सांस्कृतिक रुपमा पनि अगाडि रहेको छ । यस स्थानमा रहेको नानी भैरवको जात्रा एकदम रोमाञ्चक रहेको छ । वि.सं. १८२० कार्तिक १० गतेका दिन पृथ्वीनारायण शाहको फौजसँग पराजित धुलिखेलमा ५० घरपरिवार मात्र बाँकी रहेका थिए भने २०६८ सालको जनगणनामा कुल १४,२८३ जना जनसंख्या रहेको छ ।
लेख: GR Ranjit


