चौतारा (Chautara)
सिन्दुपाल्चोक जिल्लामा अवस्थित एक नगरपालिकाको नाम चौतारा हो । लिच्छविकालमा यस जिल्लामा रहेका पिपलको रुखहरुमा चौतारा रहेकै कारण यस स्थानको नाम चौतारा रहन गएको थियो । राजधानी काठमाण्डौं आसपासबाट मानिसहरु तिब्बत तर्फ नुन लिन जाने समयमा भारी बिसाई थकाइ मार्ने र रात परेको खण्डमा सोही चौतारीमा बास बस्ने गर्दथ्यो । तिब्बतका साथै दोलखा, सिन्धुली, रामेछाप जाने यात्रीहरु चौतारा भएरै जाने गर्दथ्यो भने यहाँ रहेको चौतारीमा थकाइ मार्ने गर्दथ्यो । यसरी चौतारा भएकै कारण यस स्थानलाई चौतारा भनिएको हो ।बि.सं १६९७ मा बुबा लक्ष्मी नरसिंह मल्ल पागल भएपछि कान्तिपुरका राजा भएका प्रताप मल्लको शासनकालमा तिब्बतलाई तह लगाउने र सो क्षेत्रलाई जितेर कान्तिपुरमा मिलाउने जिम्मा काजी भिम मल्लको काँधमा आईपरे । काजी यसै चौतारा भएर तिब्बत गएको थियो । यसरी तिब्बत लगायत कुति, केरुङ, चौतारा पनि मल्लकालमा कान्तिपुरको अधिनमा थियो । लिच्छविकाल देखि कान्तिपुर राज्य अन्तर्गत थापाहरुको अधिनमा रहेको यस स्थान बि.सं १८०३ मा महादेवपोखरी, नालदुम लगायत चौतारा जितेर राजा पृथ्वीनारायण शाहले आफ्नो मीतबुबा रणजित मल्ललाई दिई भक्तपुर राज्यमा गाँभिएको थियो । बिं.सं १८१० मा राजा जयप्रकाश मल्लले पुन: कान्तिपुरमा मिलाएको थियो । बि.सं १८२६ मा राजा पृथ्वीनारायण शाहले भक्तपुर माथी आक्रमण गरि भक्तपुर कब्जा गरेपछि यस क्षेत्र शाहको अधिनमा रहन पुग्यो । भक्तपुर कब्जा पछि त्रसित भक्तपुर लगायत कान्तिपुर, पाटन, साँखुका बासीहरु अन्यत्र बसोबास गर्ने क्रममा यस चौतारामा पनि बसाइँसराइ गरेका थिए । यसरी यस स्थानमा नेवार बस्ती बसिन थाले । पछि राजा रणबहादुर शाहको पालामा फैलिएको बिफर रोगले रोगी एवं परिवारलाई देश निकाला गरेपछि आफन्त खोज्दै थप परिवारहरु यस चौतारामा पुगेका थिए । यसरी नेवार बाहेक यस स्थानमा गुरुङ, शेर्पा, तामाङहरुको पनि बसाई रहेको छ ।
लेख: GR Ranjit
स्रोत: Rabindra Shrestha


