बाग्लुङ (Baglung)
बाग्लुङ नेपालको गण्डकी प्रदेशमा अवस्थित एक पहाडी जिल्ला हो । जुन बाग र लुङ दुई शब्दहरु मिलेर बनेको छ । मगर भाषामा “वाग” को अर्थ कहीं केही उठेको खण्ड र “लुङ”को अर्थ कहीं केही मैदान वा समथरलाई बुझाउँछ । यस स्थानमा विक्रमको अठारौं शताब्दीको अन्त्य र उन्नाइसौं शताब्दीको प्रारम्भतिर उपत्यकाको खास गरी भादगाउँबाट बागलुङमा नेवारहरू आई बसोबास गरेको देखिन्छ । काठमाडौं, पाटन, बनेपा लगायत अन्य स्थानबाट पनि नेवारहरू बागलुङमा आई बसोबास गरेको पाइन्छ । बि.सं १८२६ मा भादगाउँलाई गोर्खालीले कब्जा गरेको १५ वर्षपछि भादगाउँका राजा रणजित मल्ल र मनमयजुका छोरा अवधूत सिंह बागलुङमा आएका थिए । पर्वतका राजा कीर्तिबम मल्लबाट अवधूत सिंहले बागलुङ उपल्लाचौरमा १०० मुरी जग्गा बिर्ता पाएका थिए । अवधूत सिंहले उपल्लाचौरमा तेलिया इँटाको गारो र काठको कलात्मक थाम, झ्याल, ढोका भएको भव्य दरबार बनाएका थिए । उनका साथमा कला र प्राविधिक क्षेत्रमा दखल भएका नेवारहरू पनि ल्याएका थिए । नेवार बस्ती भएका कारण लाखे नाच, माक प्याखँ, रोपाइँ नाच, घोडा नाच, नागानगिनी नाच, ठेट्टर नाच आदि नचाउने, गाईजात्रामा ताहामचा, बास्सा, कटुवाल आदि नाच जात्रा निकाल्ने गर्दथे । बागलुङ बजारमा भीमसेन, गणेश, नारायण, राधाकृष्ण, विश्वकर्मा (हाल बुद्ध विहार) जस्ता मन्दिरहरू बनाएका छन । त्यसका साथै गुठीको व्यवस्था गरी, राति शास्त्रीय लगायत भजन गाउने ब्यबस्था समेत मिलाएको छ । यस जिल्लामा धेरै झोलुङ्गे पुल रहेको कारण यस जिल्लालाई झोलुङ्गे पुलको जिल्लाका रूपमा पनि चिनिन्छ । अर्को एक प्रमुख बिशेषता भनेको यस जिल्ला नेपाल भित्रको सानो नेपाल नामले पनि परिचित छन ।लेख: GR Ranjit


