सिम्रौनगढ (Simraugadh)
बारा जिल्लाको एक शहरको नाम सिम्रौनगढ हो । सिम्रौनगढ र भक्तपुर बिच मल्लकाल देखि नै सुमधुर सम्बन्ध रहि आएको छ । एक हिसाबले भन्ने हो भने यस क्षेत्र मदेशमा रहेपनि यहाँका मठमन्दिर, कला संस्कृती सबै भक्तपुरसंग मिल्दछ । सिम्रौनगढ शब्द नेपाल भाषाको ‘सिमधःगढ’ शब्दबाट अपभ्रंस भएर बनेको शब्द हो । ‘सिमधःगढ’ को अर्थ काम नसकेको गढ भन्ने अर्थ लाग्दछ । यस बारे एक किंवदन्ती रहेको छ । यो राज्य एक जना राक्षसले एकै रातमा बनाएको भन्ने कथा पनि छ। कथाअनुसार नान्यदेवले गाडेको धन फेला पारे पनि उनलाई विशाल जंगलमा कसरी राज्य बनाउने भन्ने चिन्ता थियो । नान्यदेवलाई चिन्तामा देखेपछि उनकी एक दासीले भनिछन्, ‘चिन्ता नलिनुस् महाराज, तपाईंको समस्याको सामाधान म गर्दिन्छु ।’ ती दासीको लंकाका राक्षससँग सम्बन्ध रहेछ । उनले आफ्ना प्रेमी राक्षसलाई उक्त कुरा बताएपछि ती राक्षसले एकै रातमा विशाल किल्ला भएको राज्य बनाइदिने बाचा गर्दै भनेछन्, ‘महाराज तपाईं भरे चाँडै सुत्नुस । कोही पनि हल्ला नगर्नुहोला, नत्र मेरो काम बिथोलिन्छ।’


त्यस रात सबै जना चाँडै सुते। कसैले होहल्ला गरेनन् । तर उज्यालो हुन नपाउँदै कुखुरा बासेछ । अनि ती राक्षस काम नसकिँदै छाडेर गएछन्। यसरी बनाउँदा बनाउँदै काम पूरा नभएकाले सहरको नाम नै ‘सिमधःगढ’ राखियो । मदेशको शहरमा नेपाल भाषाको नाम कसरी रहयो भन्दा नयार शहरका एक ब्यक्ति नान्यदेवले उक्त नामाकरण गरिएको हो भन्ने भनाई रहेकोछ । नान्यदेव २०–२१ वर्षको उमेरमा दिल्लीका राजाकहाँ काम गर्न बसे । दिल्ली त्यति बेलाको इन्द्रप्रस्थ हो । नान्यदेव दिल्लीमा काम गरिरहेकै बेला उनका आमाबुवा र श्रीमतीको मृत्यु भयो । उनी निराश भएर अयोध्या गए । त्यही क्रममा उनले कुलदेवी तुलजा भवानी अनि गाडेर राखेको धन भेटेको भनिन्छ । त्यही धनबाट उनले विशाल गढ भएको राजधानी सिमरौनगढ बनाएको भन्ने भनाइ रहेकोछ । नान्यदेवका दुई छोरा थिए– मल्लदेव र गांगदेव । नान्यदेवले गांगदेवलाई सिमरौनगढको गद्दीमा राखे । मल्लदेवलाई भने मिथिलाको उत्तरपूर्वी क्षेत्रको राजा बनाए । मल्लदेवको राज्य सिन्धुली–दोलखा–पलाञ्चोकसम्म फैलिएको हुनसक्छ ।

गांगादेव पछि क्रमश नृसिंहदेव, शक्तिदेव, रामसिंहदेव, र हरिसिंहदेवले शासन गरेका थिए । सिमरौनगढका अन्तिम राजा हरिसिंहदेव दिल्लीका बादशाह गयासुद्दिन तुगलकको आक्रमणबाट भाग्दै सहायता माग्न आफ्नो आराध्य देवी तुलजा भवानी लिई सुरूमा दोलखा गएका थिए । उनको बाटैमा निधन भयो । त्यसपछि उनकी रानी देवलदेवी, छोरा जगतसिंह देव, आफूसँगै आएका भाइभारदार र सिमरौनगढका केही जनतालाई लिएर भक्तपुरमा शरण लिन पुगेका थिए । तसर्थ भक्तपुर र सिम्रौनगढ बिच पुरानो सम्बन्ध रहेको थियो । यसै कारण दशैको “पायो न्ह्याकेगु” को दिन सिम्रौनगढका मान्छेहरु भक्तपुर आएर आफ्नो आराध्य देवी तुलजा भवानी (तलेजु भवानी) को दर्शन गरि भक्तपुरका मान्छेहरुको हालखबर सोध्ने चलन आज सम्म पनि रहेको छ ।त्यस्तै सिम्रौनगढमा रहेको मन्दिरको घण्टामा नेपाल भाषामा लेख लेखिएको पाइन्छ । यसबाट भक्तपुरका नेवाहरु सिम्रौनगढमा गै बसोबास गरेको भन्न सकिन्छ । हाल यस स्थानमा मानन्धर, प्रजापती जातीका मानिसहरु पनि बसोबास गरेको पाइन्छ । रामजानकी मन्दिर (रानीबास मन्दिर) एवं परिसर हेर्दा भक्तपुरको झझल्को आउँदछ । उक्त परिसरमा रहेका मन्दिर, मुर्ती, ढोका, घण्टा, पोखरीहरु र गाउँबस्तीको बनावट हुबहु भक्तपुरसंग मेल खान्दछ । सिम्रौनगढका राजाले भक्तपुर शहरलाई जोड्न भक्तपुर–बनेपा–सिन्धुली हुँदै बाटो बनाएको इतिहास रहेको छ ।
लेख: GR Ranjit


