त्वाना फ्याक्ने जात्रा
नेपाल सम्बत दिल्लागा चतुर्दशी (गथांमग) का दिन भक्तपुरको थिमीमा रहेको बालकुमारी मन्दिरसंगैको पोखरीमा विशेष जात्रा हुने गर्दछ जसलाई स्थानिय भाषामा “त्वाना तिनेगु” जात्रा भन्ने गरिन्छ । यस जात्रामा जात्रालुहरुले राँगाको खुट्टा उक्त पोखरीमा फ्याक्ने गर्दछ भने केही युवाका समुहले पौडी खेलेर उक्त राँगाको खुट्टा भेटाइन्छ । भेटाएको खुट्टाको मोलमोलाइ गरि जात्रालुले किन्छ र पुन: पोखरीमा फ्याकिन्छ । यहि क्रम दुई घण्टा जस्तो चल्ने गर्दछ । यसरी त्वान फ्याक्नाले आफ्नो दशा फ्याकेको सरह हुन्छ भन्ने मान्यता रहेको छ । यो जात्रा गथांमग (घण्टाकर्ण) को दहन पछि सुरु गर्ने गरिन्छ । करिव ३-४ बजे थिमी नगर भित्रको दोबाटो (स्थानिय भाषामा छ्वास) मा बनाइने गथांमगलाई नर्कटले पिटेर, आगो लगाई, परालको डोरीले तानेर खोलामा पुर्याइन्छ । यसरी नगरमा प्रवेश गरेका राक्षसलाई नगरबासीहरु मिलेर लखेटी आगो लगाई परास्त गर्ने गर्दछ । यसैदिन घरको बैगल (भन्छा) बाट छ्वालि बालेर हरेक कोठामा शुद्ध गरि घर बाहिर फ्याक्ने गरिन्छ । त्यस्तै झ्याल र ढोकाको दुई कुन्नाको माटो निकालेर पूजा गर्ने गर्दछ र निस्केको माटो छ्वाली संगै फ्याक्ने गर्दछ । यो जात्रा लिच्छविकाल देखि सुरु भएको थियो भन्ने मान्यता रहि आएको छ ।


