चुपिंघाट शिवालय (Chupinghat)

तपाईहरु कहिले स्वर्ग जानू भएको छ ? यस प्रश्नको उत्तरमा पक्कै पनि छैन नै होला । तर भक्तपुर नगर भित्र स्वर्ग छ भन्दा अचम्म लाग्न सक्दछ । चुपिंघाट स्थित शिवालयलाई स्वर्गको उपमा दिएको छ । बैशाख १ गते बिस्का जात्राका दिन र दशैंको चौथो दिन (भद्रकाली नवरातका दिन) मात्र यस शिवालय खोल्ने गर्दछ । यस शिवालयको परिसरमा रहेको पोखरीमा स्वर्गका अप्सराहरु आएर नुहाउन आउँछ भन्ने गरिन्छ । एक दिन अप्सराहरु नुहाइ रहेको ठाउँमा मानिसहरुले हेरेपछि अप्सराहरु आउन छोडेको भन्ने गरिन्छ । यसरी स्वर्गबाट अप्सराहरु आउने भएकोले पनि यस स्थानलाई धर्तीको स्वर्ग भन्ने गरिन्छ । यस परिसरमा बग्ने खोला हनुमन्ते हुन भने यसको केन्द्रमा अवस्थित महादेवलाई हर्ष महादेव भनिन्छ । बैशाख १ गतेका दिन यस घाटमा बग्ने हनुमन्ते खोलामा स्नान गरि यहाँ रहेको हर्ष महादेवको दर्शन गर्नाले मोक्ष प्राप्त हुन्छ भने जनबिश्वास रहेको छ भने यसैदिन स्नान गर्नुलाई पृथ्वीनारायण शाहका बुबा नरभूपाल शाहको कुकृत्यलाई गाली गर्नुलाई पनि लिने गर्दछ । राजा रणजित मल्लका बिबाहित रानी ऋद्धिलक्ष्मीको तर्फको जेष्ठ छोरा वीर नरसिंह मल्ललाई ( जो राजा बनाउन ठिक्क पारी राखेको थियो ।) खुकुरी (नेपाल भाषामा चुपी) को धरापमा पारी हत्या गरेका थिए । यसरी चुपीको धरापमा परि हत्या गरेको कारण यस घाटको नाम नै चुपिंघाट रहन पुगेको थियो । यस कार्यका लागि ल्याइते रानी जयलक्ष्मी (मनमैंजु) का तर्फका सात छोराहरु (भाजुराजाहरू) मा मनोरथसिंह मल्ल, धनसिंह, उपेन्द्रसिंह, अच्युत (अजित) सिंह, अवधूतसिंह, लक्ष्मीनरसिंह र सानोकान्छा जयनारायणसिंहले सहयोग गरेका थिए । उनिहरुलाई राजा बनाउने प्रलोभनमा नरभूपाल शाहका विशेष ब्यक्ति राम कृष्ण कुवंरको नेतृत्वमा उक्त षड्यन्त्र गर्न लगाएका थिए । भाजुराजा मध्य दुई जनालाई वीर नरसिंह मल्ललाई “मुदिप” मा ल्याउने जिम्मा लगाएका थिए । लठ्ठिने औषधि सेवन गराई नदिमा हाम्फाल्न उक्साएका थिए । जब नदिमा हाम्फाले नदिको मुनि राखिएको चुपी (खुकुरी) मा परि मृत्यु हुन पुगे । यसैदिन देखि नरभूपाल शाहको कुकृत्यलाई गाली गर्दै बैशाख १ गतेका दिन स्नान गर्ने गर्दछ । पछि पृथ्वीनारायण शाहले भक्तपुरमा आक्रमण नगर्ने, काठमाण्डौ र पाटनका राजा जो भक्तपुरमा शरण लिन आएका थिए लाई मात्र फिर्ता मागेका थिए । शरण आएकालाई मरण गर्दैनौ भनेपछि अवधूतसिंह मल्लको नेतृत्वमा लडाइँ भएको थियो । आफ्नो मीत (भाजुराजाहरुका दाइ) लाई हत्या गर्न सक्नेहरुको के बिश्वास भनी हमला गरियो । तीन दिन चलेको सो युद्ध पश्चात् राजा रणजित मल्ल, रानी जयलक्ष्मी, र भाजुराजा अवधूतसिंहलाई काशी जान दिएका थिए । यसरी रहस्यमय तरिकाले भएको हत्याका कारण चुपिंघाट रहन गएको यस परिसरमा धौबदेलहरुको कुल पुजा समेत हुने गर्दछ । यसै शिवालयको दक्षिण भेगमा एक दिप पनि रहेको छ । जसलाई कयतामरुघाट भनिन्छ । लाकोलाछें क्षेत्रका बासिन्दाहरुले यसै घाटमा श्राद्धको पिण्ड बगाउनुको साथै स्वनचा (मान्छे मरेपछि राख्ने भर्याङ) राख्ने काम पनि गर्ने गर्दछ । त्यस्तै यस घाटमा एक पोखरी रहेको छ जस्को मध्य भागमा महादेवको मुर्ती पनि राखिएको छ । उक्त पोखरीमा बेत (वलं) भिजाउने गर्दछ ।
लेख: GR Ranjit


