साकोठा (Sakotha)
भक्तपुरका विभिन्न टोलहरुको नामाकरण विभिन्न अर्थहरुमा भएको पाइन्छ । यस मध्य एक टोल भक्तपुर वडा नं ५ मा अवस्थित साकोठा टोल हो । साकोठा शब्द नेपाल भाषाका दुई शब्दहरु “साफु” र “कोठा” मिलेर बनेको हो । यहाँ प्रयोग गरिएको साफुको अर्थ किताब हो । किन किताब राख्ने कोठाको नाममा यस टोलको नामाकरण हुन गएको हो ? भन्ने प्रश्न उठ्न सक्छ ।वर्तमान समयमा पुस्तकहरु राख्ने स्थानलाई पुस्तकालय (Library) भनिन्छ । पुस्तकालय भित्र विभिन्न प्रकारका पुस्तकहरु राख्ने गर्दछ । जसरी वर्तमान समयमा पुस्तकालयमा पुस्तकहरु राख्ने गर्दछ, मल्लकालमा पनि साफु राख्न एक छुट्टै घर बनाएको थियो । उक्त घरलाई साफुकोठा भन्ने गर्दछ । उक्त घरका कारण यस टोलको नाम साफुकोठा रहन गएको थियो । साफुकोठा शब्द अप्रभंस भई साकोठा बनेको थियो । यस साफुकोठामा भक्तपुरको प्रख्यात अभिलेखा, पुस्तक, दस्ताबेज, ल्वहं हितिका डिजाइन, मन्दिरहरुका नक्सा, तान्त्रिक शक्तिका बिधिहरु, देवदेवी पूजाका मन्त्रहरु, भजनका पुस्तकहरु, रोग र त्यसका उपचारका पुस्तकहरु, अर्ग्यनिक रंगरोगनका पुस्तकहरु, ज्योतिष शास्त्रका पुस्तकहरु, साहित्यका पुस्तकहरु आदि पुस्तकहरु राखिएको थियो । यति भनिरहन्दा हामी यो कल्पना गर्न सक्छौ कि मल्लकालमा हाम्रो समाज धेरै विकसित थियो । काष्ठकला, धातुकला, बास्तुकलामा निकै बिकसित त्यो समय साहित्यमा समेत अवल थियो भन्दा फरक नपर्ला । त्यस समय नेपाल भाषामा निकै कथा, कविताका पुस्तकहरु प्रकाशन भएको थियो जुन पुस्तकहरुको भण्डारण साफुकोठामा गरेको थियो । बि.सं १८२६ मा पृथ्वीनारायण शाहले जब भक्तपुर माथी हमला गरि जिते तब मात्र १५०० गोर्खालीले भक्तपुरको ५०१ घरमा आगो लगाएका थिए र यस आक्रमणमा २१०० जना नेवार मारिएका थिए । भक्तपुरको प्रख्यात अभिलेखालय, पुस्तक, दस्ताबेज भएको साफुकोठा समेत जलाइएको थियो ।
लेख: GR Ranjit


