वन्दीपुर (Bandipur)
तनहुँ जिल्लाको एक गाँउपालिकाको नाम वन्दीपुर हो ।वन्दीपुर भन्नाले नेपाल भाषाको शब्द “वन दिगु पुर” जसको अर्थ गएर बसेको ठाउँ भन्ने हो । तर होटल वन्दीपुर अर्गानिक होमका सञ्चालक आशुतोष प्रधानका अनुसार पानी मूल भएकाले मगर भाषामा यसको नाम वन्दीपुर राखिएको हो । “वन”को अर्थ जगंल, “दी”को अर्थ पानी र “पुर”को अर्थ गाउँ हो । समुन्द्री सतहभन्दा एक हजार ३० मिटरको उचाईमा रहेको वन्दीपुर काठमाडौँबाट १ सय ४७ किलोमिटर पर छ। राजा मुकुन्द सेनले शासन गरेदेखिको इतिहास जोडिने वन्दीपुरमा अढाई सय वर्षअघि भक्तपुरका नेवारहरु गएर व्यापारको केन्द्र बनाए। यहाँ मगर समुदायले आफ्नो संस्कृतिको जगेर्ना अझसम्म गरेको देख्न पाइन्छ । ठिक्कको हावापानी, काठमाडौं उपत्यकाबाट चार घण्टामा गाडीमा पुगिने यो क्षेत्र बिस्तारै घुम्ने बानी बढेसँगै आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढ्यो । ‘अहिले वन्दीपुर आन्तरिक पर्यटकले नै धानिएको छ,’ सात पुस्ता वन्दीपुरमा बिताएका प्रधानले भने, ‘अन्य देशका पर्यटक पनि रमाइरहेका हुन्छन्।’ वन्दीपुर बजारमा नेवार समुदायको पकड रहेकोछ । बजारभन्दा केही माथि रामकोटमा मगरहरुको पुरानो बस्ती छ । सन् १७६८ मा नेवारहरुले व्यापारिक प्रयोजनका लागि वन्दीपुरलाई प्रयोग गरे । भक्तपुरबाट वन्दीपुर पुगेका पुस्ताका प्रतिनिधि प्रधानका अनुसार भक्तपुरका नेवारहरुले व्यापार तथा नेवार संस्कृति र विभिन्न जात्रा र मेला समेत भित्र्याइए । तनहुँको सदमुकामको रुपमा रहेको यस क्षेत्रमा घना बस्ती रहेको थियो तर बि.सं २०२५ सालमा सदरमुकाम सरेर दमौलीमा पुगेपछि यसको रौनक क्षीण भएको प्रतीत हुन्छ । सन १९९२ मा साझा बिकास समिती गठन भएपछी पुन: यसको रौनक बढ्न थालियो । सन १९९८ मा इकोटुरिजमको सुरुवातसंगै मौलिक घरहरुको निर्माण हुन थालियो । जसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य वृद्धि भए । यहाँको अर्काे पाटो भनेको नेवार संस्कृति हो । जात्राको समयमा लाखे, बाघ जात्रा, रोपाईँ जात्रा, पुतलीको बिहे, बिस्केट जात्राजस्ता जात्राहरु आयोजना गरिन्छन् । गुरुङ र मगर समुदायको चुट्का नाच र घाटु नाच पनि यतै हुन्छ। सबैभन्दा रोचक र यहाँको मौलिक जात्रा भनेको बाघ जात्रा रहेकोछ । यहाँ रहेका मन्दिरहरुमा खड्कदेवी, विन्ध्यवासिनी, गणेश मन्दिर, महालक्ष्मी, थानीमाई, चामुण्डा र तीनधारा महादेव अनि गुम्बादेखि चर्चसम्मै अटेको छ । थानीमाईबाट मस्र्याङ्दी नदी उत्तिकै आकर्षक देखिन्छ । यहाँको अर्को आकर्षणको पक्ष भनेको सिद्ध गुफा पनि हो । ४ सय ३७ मिटर लामो यो गुफाका साथै, झरनाले वन्दीपुर वास्तवमै उत्तम गन्तव्य बन्न पुगेकोछ ।लेख: GR Ranjit


