रंजितकार (छिपा)
नेवार समुदायमा विभिन्न थरका मानिसहरु रहेका छन । यसै मध्य एक थर रंजितकार पनि हुन । “रंजितकार” एक खस शब्द हो भने यस समुदायलाई नेपाल भाषामा “छिपा” भन्ने गर्दछ । नेपाल भाषामा बोलाइने विभिन्न थरहरुलाई खसकरण गरि नयाँ शब्दहरु दिइएको छ । जस्तैकी मानन्धर समि, सिल्पकार सिंकमी, शिलाकार ल्वहंकमी, मदिकर्मी मारिकमी, चित्रकार पुं, ताम्राकार तामो, कर्मचार्य आचाजु, कायष्ठ कसजु आदि । त्यस्तै गरि छिपाहरुलाई पनि रंजितकार भन्ने गरिन्छ । यस थरका मानिसहरुको मुख्य पेशा भनेकै कपडामा रंगरोगन गर्नु, बुट्टा भर्नु र सुकाउनु हो । यसरी कपडामा रंगरोगन गर्ने कामलाई नेपाल भाषामा “छिगु” र सुकाउने कामलाई “पायगु” भनिन्छ । यसरी छिगु र पायगु बाटै छिपा थर रहन गएको थियो । यस थरका मानिसहरुको लागी आफ्नो पेशागत काम गर्न ठूलो चौरको आवश्यक पर्दछ । यसरी ठूलो चौर, र प्रशस्त पानीको ब्यबस्था भएको ठाउँ भनेको भक्तपुरमा खोर्हे (हनुमानघाट) रहेकोले प्राय रंजितकारहरु यसै स्थानमा रहने गर्दथ्यो । यहाँ पानीको लागि हनुमन्ते नदि थियो भने सुकाउन नदि पारी ठूलो चौर (पांचाख्य) थियो । यसरी छिपा शब्दलाई खसकरण गर्दा रंगमा जित हासिल गरेको भनेर रंजित भन्न थालियो । विभिन्न जडिबुटी, ओखरको बोक्रा, घाँसहरुको प्रयोग गरि विभिन्न रंग बनाएर धागो र कपडा रंगाएकै कारण छिपाहरुलाई रंजित भन्ने गरियो । यसरी रंगमा जितेर बिशेषज्ञता हासिल गरेकै कारण यिनीहरुलाई रंजितकार भन्ने गरियो । यहाँ “कार” शब्दको अर्थ बिशेषज्ञ हुन । यी रंजितकारहरुले नै भक्तपुरमा मनाइने बिस्का जात्रामा उभ्याइने यसिंद्य:मा झुन्ड्याउने हलिपत बनाउने गर्दथ्यो । त्यस्तै यन्यापुन्ही (इन्द्रजात्रा) मा निकाल्ने लाखे आजुको चुन्दरी, ग्वयका, पासुका,आदि बनाउने पनि गर्दथ्यो । त्यस्तै मल्लकालमा राजाको श्रीपेच बनाउने पनि रंजितकारहरुले नै बनाउने गर्थे ।
लेख: GR Ranjit


