
ईन्द्रसिद्धी बिनायक
भक्तपुर वडा नं ७ मा अवस्थित एक टोलको नाम गोमरी हो । यस टोलको मुख्य देवता टोलको चोकमा तीन तल्ले मन्दिरमा अवस्थित ईन्द्रसिद्धी बिनायक हुन । यस देवताको नामले नै स्पष्ट हुन्छ कि यसै स्थानमा भगवान ईन्द्रले सिद्धि पाउनु भएको थियो । यस सम्बन्धी एक किंवदन्ती रहेको छ । भगवान ईन्द्रले अभिमानले भगवान गणेशको अपमान गर्दा गणेशजिले क्रोधले ईन्द्रलाई श्राप दिनु भएको थियो । देवराज इन्द्र प्रथमपूज्य गणेशकाे काेपभाजन(श्राप ) बाट मुक्त हुन यस स्थानमा गणेशरूपी शिला राखी नित्य उपसना गर्दै जाँदा उक्त शिला सिध्द भई स्वयम् गणेश प्रकट भएर देवराज इन्द्र गणेशकाे श्रापबाट मुक्त भएकाे हुनाले याे गणेशकाे नाम इन्द्रसिध्दि विनायक रहन गएकाे जनश्रुति रहेकाे पाइन्छ । देवताहरुमा गणेश चाँडै सिध्द हुनेमा पर्दछन् भन्ने जनविश्वास रहेकाे छ।कुनै एक ढुंगाे स्थापना गरी गणेश भाकेर पूजा उपसना गर्दै गइयाे भने त्यसमा गणेशाकृति स्वयम् देखापर्न थाल्छन् भन्ने जनश्रुति र विश्वास रहेकाे छ।यस इन्द्रसिध्दि गणेशकाे आकृति पनि कालिगढी आकृति हाेइनन् । यस मन्दिरको बिशेषता यतिमा सिमित भने छैन । अरु मन्दिरको मुख्य द्वार माथी रहेको तोरणमा त्यस मन्दिर भित्र कुन देवता रहेको छ त्यसैकै मुर्ती कुंदिएको हुन्छ । तर यस मन्दिर भित्र गणेशजीको मुर्ती रहेपनि तोरणमा भने ईन्द्रको मुर्ती कुंदिएको छ । यस बाहेक पनि यस मन्दिरको स्वरुप बिस्का जात्रामा तान्ने भैरवको रथको स्वरुपमा रहेको छ । यस ईन्द्रसिद्धी बिनायक मन्दिरमा भैरवको रथमा जस्तै तीन तल्ला रहेको छ भने मन्दिरमा चारवटा पांग्रा स्वरुपको बार राखिएको छ । त्यस्तै बेतद्य: राखेको स्वरुपमा मन्दिर अगाडि महांकालको मुर्ती राखेको छ । स्वरुप मात्र उस्तै नभै उचाई र चौडाइ समेत रथकै जति राखिएको छ ।
लेख: GR Ranjit


