राम झुपली
भक्तपुर गोल्मढी टोलमा अवस्थित राम झुपली अन्य स्थानमा रहेको मन्दिर भन्दा पृथक प्रकारको मन्दिर हो । बाहिरी संरचना हेर्दा प्रवेशद्वारमा रहेको दुई जोडि सिंह र सिंढी देख्दा यहाँ पनि अन्यत्र कै जस्तो ठुलै मन्दिर हुनु पर्थ्यो भन्ने अनुमान गर्न सकिन्छ । तर हाल भने भजन घर जस्तो संरचनामा बिकास भएको पाइन्छ । यस झुपलीमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मुर्ती रहेकै कारण यस मन्दिरलाई राम झुपली भनिएको हो । यस बाहेक नारायण, कृष्ण र शिव पञ्चायनको पनि मुर्ती रहेको छ । झुपली यस अर्थमा कि यहाँ भजन किर्तन गर्ने भएकै कारण यसलाई झुपली भनिएको हो । यहाँ रहेको राम, सीता, लक्ष्मण र हनुमानको मुर्ती बारे एक किंवदन्ती रहेको छ । एक समय नेपाल र तिब्बत बीच युद्ध हुन लाग्दा नेपाली सेनाहरु युद्ध गर्न तिब्बत तिर गएका थिए ।

यसै समय कर्नेल रामले भगवानको स्तुति गर्नु भएछ । त्यसै राती राम, सीता, लक्षमण र हनुमान उहाँको सपनामा आएछ । राम, सीताको उक्त मुर्ती हालको नवदुर्गास्थाको अगाडि गाडेर राखेको अवस्थामा थियो । युद्ध जितेर फर्केर उक्त गाडेको स्थानमा उत्खनन गरि हेर्दा साँच्चिकै राम सीताको मुर्ती फेला परेछ । उक्त मुर्तीलाई हालको गोल्मढीको वीर भद्रेश्वर मन्दिर नजिकैको पाटीमा राखेको थियो । केही समय त्यस स्थानमा राखे पछि हालको राम झुपलीमा राखेपछि यस झुपलीको नाम राम झुपली रहन गएको थियो । यहाँ रहेको माता सीता अन्नपूर्ण माताको स्वरुपमा रहेको छ । माताको हातमा भात पकाउने भाडो र पन्यौ रहेको छ भने यहाँको हनुमान पुर्वभिमुख हो । हनुमानको पूजामा पुर्वभिमुख हनुमानको पूजा अति उत्तम मानिन्छ ।


