रूरू भैरव र महेश्वरी
(Ruru Bhairav and Maheshwori)

राजा आनन्ददेवले भक्तपुरको निर्माण गर्दा भक्तपुरलाई दुष्ट शक्तिबाट रक्षा गर्न भक्तपुरको वरिपरि अष्ट मातृका गणको पीठहरु निर्माण गर्न लगाएका थिए । हरेक अष्ट मातृकाहरुको पीठसंगै अष्ट भैरवको पनि मुर्ती स्थापना गर्न लगाएका थिए । अष्ट भैरवलाई अष्ट मातृकाका श्रीमान भन्ने गरिन्छ । जस अन्तर्गत
१. असिताङ्ग भैरव – ब्रम्हायणी
२. रूरू भैरव – महेश्वरी
३. चण्ड भैरव – कौमारी
४. क्रोध भैरव – भद्रकाली
५. उन्मक्त भैरव – बाराही
६. कपाली भैरव – ईन्द्रायणी
७. भिष्ण भैरव – महाकाली
८. संहार भैरव – महालक्ष्मी
हुन । श्वेत बर्णकी माता महेश्वरीलाई नेपाल भाषामा बाता अजिमा भनिन्छ । महेश्वरी माताका श्रीमान रूरू भैरव हुन । महेश्वरी पीठबाट वाचुत्व टोलमा आउँदा उकालोमा अवस्थित बुद्धको मुर्तीबाट बायाँ तिर रूरू भैरवको मुर्ती रहेको छ । रातो रुप, दिब्य तेज रत्न जडित मुकुत लगाएको कुकुर माथी सवार भैरव नै रूरू भैरव हुन । कानमा कुण्डल, पाउ सम्म आउने रुद्राक्ष माला लगाएका दायाँ हातले त्रिसुल र डमरू समातेका र बायाँ हातले नागपास समाएका भगवान रूरू भैरव एकदम भयंकर मुद्रामा हुनु हुन्छ । भगवान रूरू भैरवलाई भेट्न माता महेश्वरी उकालोमा रहेको ठूलो शिलामा आएर कुरेर बस्ने गर्दछ । यसै शिलामा भगवान रूरू भैरव आएर दुई स्त्री पुरुष प्रेमका कुराकानी गरि बस्दछ भने जनबिश्वास रहेको छ । माता महेश्वरीको पूजा गर्दा यस भैरवको पनि पूजा गरेको खण्डमा मात्र पूजाको फल मिल्ने जनबिश्वास रहेको छ । एकदमै असुरक्षित एवं फोहर ठाउँमा राखिएको यस भैरवको अस्तित्व संकटमा परेको छ । यस भैरवलाई स्थानियहरु एवं स्थानिय सरकार मिलेर जोगाउनु पर्ने आजको आवश्यक रहेको छ ।
लेख: GR Ranjit
सहयोगी: Bijendra Pulanchhe


