सुर्यबिनायक/ इनाय गणेश (Suryabinayak)
उपत्यकाका चार सिद्ध बिनायकहरु (जलबिनायक, अशोकबिनायक, सुर्यबिनायक, चन्द्रबिनायक) मा सुर्यबिनायक पनि एक हुन । यस मध्य पनि सुर्यबिनायक सबै भन्दा जेष्ठ मानिन्छ । आज भन्दा १५०० बर्ष पहिले लिच्छवि राजा बिष्णु देव बर्माको पालामा यो मन्दिरको स्थापना गरेको भन्ने गरिन्छ । पछि १७ औं शताब्दीमा राजा भूपतिन्द्र मल्लको पालामा यस मन्दिरको पुर्ण रुपमा निर्माण गरेको भन्ने अभिलेख पाइन्छ । हुन त राजा महेन्द्रको पालामा पनि यहाँको मर्मत तथा जिर्णोद्वार भएको अभिलेखहरु पाइन्छ ।
सुर्यबिनायक भन्ने बितिकै नामैले स्पष्ट छ कि सुर्य र बिनायक दुई शब्द मिलेर सुर्यबिनायक भएका हुन । भनिन्छ उपत्यकामा सबै भन्दा पहिले यसै स्थानमा सुर्यको पहिलो किरणको उदय हुने गरिन्छ । सुर्यको पहिलो किरण परेको स्थान भएर सुर्यबिनायक रहन गएको हो । यस बारे एक किंवदन्ती रहेको छ । एक ब्राह्मणको छोराको मृत्य हुन्दा त्यस ब्राह्मणले अति नै बिलाप गरेको देखेर भगवान गणेशले दर्शन दिई यस नेपाल मण्डलमा पर्ने सुर्यको पहिलो किरण तिम्रो छोरामा पर्यो भने जिवित हुनेछ भने पछि त्यस ब्राह्मणले हालको सुर्यबिनायकमा आफ्नो मृत छोरा ल्याएका थिए र सुर्यको पहिलो किरणसंगै जिवित भए पछि यहाँ सुर्यबिनायकको उत्पती भएको थियो भनिन्छ । उपत्यकाका गणेशको मुर्तिहरु सबै दक्षिणाभिमुख छन तर सुर्यबिनायक मात्र पुर्वभिमुख हुन । सुर्यबिनायकलाई स्थानिय भाषामा “इनाय गणेश” भनिन्छ । “इनाय” को अर्थ नेपाल भाषामा बिनायक (गणेश) हुन । “इनाय” रहेको जंगललाई “इनाय गुं” भनिन्छ । “गुं” को अर्थ नेपाल भाषामा जंगल हो । यस सुर्यबिनायक जंगलको बारे पनि एक किंवदन्ती रहेको छ । जब लक्ष्मणलाई इन्द्रजितले बेहोस बनाइयो, उपचारको लागि संजिवनी जडिबुटी चाहेकोले वीर हनुमानलाई हिमाली भेगमा पठायो । वीर हनुमानले चिन्न नसकेर पहाड नै उठाएर ल्याउने क्रममा सानो ढिस्को खसेर सुर्यबिनायकको जंगल बनेको थियो । त्यस्तै भक्तपुरमा रहेको ठूलो घण्टाहरु मध्य एक सुर्यबिनायकमा रहेको छ । यो घण्टा नित्य पुजा गर्ने बेला बजाउने गर्दछ । यसबाट के स्पष्ट हुन्छ कि यहाँ विशेष पुजा हुने गर्दछ । त्यस्तै गोल्मढीको एक गुठीले यहाँ “मतापुजा” गर्ने प्रचलन पनि रहेको छ भने सकिमना पुर्णिमाका दिन हलिमली (नसा बोइगु) पनि गर्ने गरिन्छ । कोनेको एक दाफा भजन मंडलीले यहाँ भजन गरिन्छ ।
Source: Amrit Mishra
लेख: GR Ranjit


