कमलबिनायक/ यातु गणेश (Kamalbinayak)
करिब १००० बर्ष अगि भक्तपुर वडा नं १० मा कमलबिनायक गणेश स्थापना गरिएको थियो । पछि यो मन्दिर भत्काएर बिसं २०६७ सालमा पुन: निर्माण गरेका थिए । कमल र बिनायक दुई शब्द मिलेर कमलबिनायक बनेको हुन । पहिले पहिले गणेश मन्दिरसंगै रहेको पोखरीमा कमलको फुल फुल्ने भएको कारण यस गणेशको नाम नै कमलबिनायक रहन गएको हो । यस गणेशलाई नेपाल भाषामा “यातु गणेश” भन्ने गरिन्छ । यातु भन्नाले पहाडको मुनि वा ओरालो मुनि भन्ने बुझिन्छ । त्यस्तै कमलबिनायक पोखरीलाई नेपाल भाषामा “बार्हे पुखु” भनिन्छ । यस गणेशको महिमा भनेकै यदि बच्चाहरुको वाक्य नफुटेको खण्डमा यहाँ पुजा गर्नाले वाक्य फुट्छ भने जनबिश्वास रहि आएको छ । यस पुजामा वाक्य नफुटेका बच्चाहरुलाई भगवानको दर्शन गराई रुन दिनु पर्छ भन्ने मान्यता रहेको छ । यसको निम्ति आफन्तजन सबै मन्दिर पछाडी लुक्ने गर्दछ । त्यस्तै दशैको अष्टमीमा यहाँ मुख धुने र स्नान गर्नेहरुको मेला लाग्ने गर्दछ भने बिस्का जात्रामा यस गणेशको खट जात्रा हुने गर्दछ । यस मन्दिरको परिसरमा विभिन्न मन्दिर, पाटी, चैत्य बनाएको छ । पोखरीको पुर्व तर्फ राजा सम्रात अशोककी छोरी चारुमतिले तीनवटा चैत्य बनाउन लगाएका थिए । यस कमलपोखरीको एक किंवदन्ती रहेको छ । पहिले यहाँ तोला रानी नामको रानी थिए । एक तोलाको उक्त रानी दैनिक पातमा बसि पोखरीको बिचबाट पानी ल्याइ तलेजु भवानीलाई चढाउथे । एकदिन सुनको गरगहणा लगाई पातमा बसि पानी लिन जन्दा दुबेको थियो भन्ने गरिन्छ । एकदम आकर्षक एवं मनोरम दृश्यले भरिपुर्ण यस क्षेत्रमा घुम्न आउनेहरुको ओइरो लाग्ने गर्दछ भने हरेक दिन भक्तालुहरु भगवानको दर्शन गर्ने आउने गर्दछ । विशेष गरि मंगलवार र शनिवार भिड लाग्ने गर्दछ ।
लेख:- GR Ranjit


