ऋषेश्वर महादेव/ ऋषि पञ्चमी

गणेश चौथीको भोलीको दिनलाई ऋषि पञ्चमी भन्ने गरिन्छ । यसदिन बिशेषगरी महिनावारी भैसकेका महिला दिदीबहिनीहरु व्रत वसि ऋषेश्वर महादेव लगायत सप्त ऋषिहरुको पुजा गर्ने गर्दछ । ऋषि पुजन गर्ने भएकै कारण यस दिनलाई ऋषि पञ्चमी भनिएको हो । यसदिन बिहानै स्नान गरेर शरीर र आत्माको शुद्धि गरिसकेपछि नारीहरूले दियो, कलश अनि गणेश स्थापित गरेर विभिन्न भजन र प्रार्थना गर्दै कश्यप, आरती, भार्गदोज, विश्वामित्र, गौतम, जमदग्नि अनि वशिष्ठलगायतका ऋषिहरूको पूजा र आव्हान गर्ने गरिन्छ ।

त्यसपश्चात् ब्राह्मणले रीतिअनुसार पूजा अर्चना गरेपछि मात्र ऋषि पञ्चमीको अनुष्ठान पूर्ण हुन्छ । यो पुजाको मुख्य ध्येय पौरानिक बिचारधारा अनुसार रजस्वला हुन शुरु भइसकेका महिलाहरूले रजस्वला हुँदा आफूबाट केही गल्ती या अमर्यादित क्रियाकलाप भएको भए ती कुराहरूको शुद्धाशुद्धिका लागि पूजा अर्चना गर्नु हो ।
शास्त्रहरूले पनि रजस्वला र महिलाहरूको यस प्राकृतिक गुणप्रति समस्त मानव जगको ध्यानाकर्षण गर्न ऋषि पञ्चमीको परिकल्पना गरेको हुनपर्दछ । नारीलाई रजस्वलाको दिनहरूलाई चार वटा देवीहरू अनुरूप तुलना गर्ने चलन छ: प्रथम दिन चण्डालिनी, दोस्रो दिन ब्रह्मधातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुने चलन छ । ऋषि पञ्चमीको इतिहास हजारौँ वर्ष पुरानो छ र त्यतिकै पुरानो छ वैदिक सनातन संस्कारले नारीहरूको प्रजनन स्वास्थ्य र अधिकारलाई दिएको महत्त्वको इतिहास । तर आज यस समाजमा बिद्यमान कुरुतीले यस चार दिन छाउपडीको बास दिने गर्दछ । यसलाई कुनै दोष भन्दा पनि एउटा विशेष क्षमता र सृष्टिको कारकका रूपमा अभिव्यक्त गर्दै यस दिनमा रजस्वलालाई नितान्त सामान्य अनि छुवाछुत भन्दा पनि सरसफाइलाई प्राथमिकता दिँदै, महिलाहरूलाई यस अवधिभर आराम र ख्याल गर्ने वातावरण सृजनाको प्रतिबद्धता कायम गर्न जरुरी छ । नारीहरू भनेको माया र शक्तिका प्रतिमूर्तिहरू हुन र देवीहरू हुन त्यसैले त शास्त्रले पनि नारीलाई यसरी वर्णन गरेको छ:
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
या देवी सर्वभूतेषु ज्ञानरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
या देवी सर्वभूतेषु एश्वर्यरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
शक्तिका रूपमा सर्वव्यापी अनि जगमा सम्पूर्ण कुरामा रहेकी नारीलाई हाम्रो हार्दिक नमन ।
यसरी यसदिन नारीहरुले पुजिने ऋषि एवं ऋषिहरुको पनि ईश्वर ऋषेश्वर महादेवको पुजन गर्दै आएको हो । यसदिन हनुमानघाटमा अवस्थित ऋषेश्वर महादेव, काठमाडौँ टेकुमा अवस्थित ऋषेश्वर महादेव र पाटनको बंगलामुखीमा अवस्थित ऋषेश्वर महादेवमा मेला लाग्ने गर्दछ ।
लेख: GR Ranjit
स्रोत: सुयोग ढकाल


