किलेश्वर महादेव, छिन्नमस्ता माई र चांगु नारायण मन्दिर
Kileshwor mahadev, Chhinnamasta mai, and Changu Narayana Temple

एक समय निकै पराक्रमी दैत्यहरु र देवताहरु बीच महायुद्ध भएका थिए । उक्त युद्धमा देवताहरुको शक्ति छिन हुन पुगेपछि देवताहरु नारायण समेत नेपालको दोलागिरी पर्वतमा रहेको एक जंगलमा लुकेर बसिरहे । दैत्यहरुले यो कुरा चाल पाएर देवताहरुको संहार गर्ने उद्देश्यले दोलागिरी पर्वत पुगेर पर्वतलाई दोलादोला गरि हलाउन थाले । यो देखेर देवताहरुले भगवान शंकरको स्तुति गर्न थाले । संहारकर्ता भगवान शंकरले देवताहरुको यस्तो अवस्था देखि अति करुणा लागेर किल्लाको रुप धारण गरि दोलागिरी पर्वतमा किल्ला गाडिनु भयो । किल्ला गाड्नाले दैत्यहरुले उक्त पर्वत हलाउन सकेन । यसरी भगवान किलेश्वर महादेवको सृष्टि भएको थियो ।
यसै स्थानबाट शंकरले माता भगवतीको स्तुति गर्नु भयो र माता प्रकट हुनु भयो । माताले आफ्नो शिर छेडन गर्दा निस्केको रगतबाट हजारौ गणहरुको उत्पती पश्चात् पुन: दैत्यहरुसंग महा घनघोर युद्ध भयो । उक्त युद्धमा ती सम्पुर्ण दैत्यहरु संहार गरि देवताहरुलाई संरक्षण गर्नु भएका कारण माता छिन्नमस्ताको जयजयकार हुन थाले । यस घटना पश्चात् सम्पुर्ण देवताहरु आ-आफ्नो लोकमा फर्किनु भयो तर नारायण भने यसै रुखमा बिराजमान हुनु भयो ।
एक समयमा एक ग्वाला (गाई चडाउने मान्छे)ले आफ्नो गाई चडाउने क्रममा एक बालक एक रुखबाट निस्केर गाईको दूध पिउथे । साँझ जब दूध दुउन लाग्दा गाईले दूध दिएन । यहि क्रम निरन्तर जारी रहयो । यसरी गाईले दूध नदिएको कारण हैरान ग्वालाले एक दिन यसको कारण जान्ने निधो गरेर आफ्नो एक साथीसंग एक रुखको पछाडी लुकेर गाईलाई हेरि रहे तब उक्त रुखबाट सोही बालक निस्केर दूध खाएको सबै बिस्तार हेरि रहे । क्रोधले सो ग्वालाले उक्त रुख काटिदिए । जब रुख काटियो तब रुखमा अंकित भगवान बिष्णुको टाउको छेडन भयो र रुखबाट रगत बग्न थाल्यो । यो देखि ग्वालाहरु डराउन थाले र भगवान बिष्णुसंग क्षमा मागे । तब एक आकाशवाणी आई तिमीहरुले कुनै अपराध गरेको छैनौ । यो त मेरो ब्रम्ह हत्याको पाप मोचन भएको हो । तिमीहरु यसै स्थानमा मेरो पुजाआजा गर्नु भने पछि उक्त स्थानमा भगवान नारायण बिराजमान भएको किम्बदन्तीमा उल्लेख छ । आज सम्म पनि चांगुनारायण भगवानको पछाडी चाँपको बोट रहेको छ ।
चांगु एक नेपाल भाषाको शब्द हो । नेपाल भाषामा चां र गुँ दुई शब्द मिलेर चांगु शब्द बनेको हो । चां भन्नाले नेपाल भाषामा चासुमा (चाँपको बोट) हो भने गुँ भन्नाले जंगल भन्ने बुझिन्छ । यसरी चाँपको जङ्गलबाट चांगु रहन गएको भन्ने बुझिन्छ । चांगु नारायण एकदम पुरानो मन्दिर हो भन्ने कुरा उपत्यकामा प्राप्त शिलालेखबाट पनि यहि कुरालाई प्रष्ट्याउँछ कि यो मन्दिर उपत्यकाका सबै भन्दा पुराना मन्दिर हुन । राजा मानदेव (४६४-५०५AD) ले जिर्णोद्वार गर्न लगाएको यो मन्दिरको निर्माण लिच्छविकालिन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३मा बनाएको भन्ने भनाई पाइन्छ ।

घमा द्यो जात्रा (बंशगोपाल जात्रा)
भक्तपुरको चांगुनारायण परिसरमा फागुन पुर्णिमाका दिन मनाइने एक जात्राको नाम हो घमा द्यो जात्रा । घमाको शाब्दिक अर्थ पांग्रा हो । यस जात्रामा सानो रथमा पांग्रा राखेर डोरीले तानेर रथलाई देश परिक्रमा गर्ने गरिन्छ । सम्भवत यो रथ विश्व कै सबै भन्दा सानो रथ मानिन्छ जसको उचाई ७ फिट र चौडाई पनि ७ फिट रहेको छ । रथमा राखिएको लामो काठ (त्वनसिं) मा सुन्दर भैरवको आकृतीका साथै दुई मयुरको बुट्टा कुदिएको हुन्छ भने उक्त काठको माथी चार हाती रहेको हुन्छ जसको अर्थ चार दिशा भने बुझिन्छ । यस रथमा भगवान बंशगोपालका साथै उनका दुई शक्तिहरु बिराजमान गराइन्छ । यस जात्रालाई बंशगोपाल जात्रा पनि भन्ने गरिन्छ । सम्भवत यो जात्रा गोपालवंशको पालाको जात्रा पनि भन्ने गरिन्छ । यहाँ रहेका भडेलहरुलाई पनि गोपालबंशी नै भन्ने गरिन्छ । यसरी गोपालबंशका देवता हुनाले यस देवतालाई बंशगोपाल भनेको हो भन्ने भनाइ रहेको छ ।
लेख: GR Ranjit
स्रोत: Amrit Mishra, Ram Prakash Bhatta, Prajen Gwala Bhadel


