
भक्तपुरमा अवस्थित सबै भन्दा पुरानो बिहारहरु मध्य प्रशन्नशिल महाबिहार पनि एक हो । यो बिहार वडा नं १०, क्वाठण्डौमा अवस्थित रहेको छ । यस बिहारलाई पशुपती महाबिहार वा पशु महाबिहार पनि भनिन्छ । यो “द्य: ननि” भित्र अवस्थित रहेको छ । जुन १० औ शताब्दीमा स्थापना भएको थियो । लिच्छविकालिन यस बिहारको मुख्य देवता पद्मपाणी लोकेश्वर हो भने भक्तपुरमा अवस्थित पाँच दिपंकरहरुका मुख्य दिपंकर पनि यहाँका मुख्य देवता हुन । अक्षोभ्य, प्रज्ञापारमिता, नामसंगिती, सदक्षरी लोकेश्वर, वज्रसत्व पनि यस स्थानका देवताहरु हुन । यस स्थानमा दैनिक पुजा गर्न स्थानियहरु आउने गर्दछ्न भने हिमालय क्षेत्रका मानिसहरू र तिब्बती तिर्थयात्रीहरुले “बोल्ने तारा” को रुपमा पुजा गर्ने पनि गरिन्छ । नेपाल भाषामा यस देवतालाई “अजाजु द्य:” पनि भन्ने गरिन्छ । अजाजु शब्द “अजा” र “आजु” दुई शब्द मिलेर बनेको शब्द हो । जसको अर्थ बाजे हो । यस बाहेक महांकाल, मञ्जुश्री, गणेश, शिव-पार्वतीको मुर्ती समेत स्थापना गरेको छ । यस परिसरमा बज्रखतु चैत्य, धर्मधातु चैत्य, खम्ब चैत्य र गजु चैत्य पनि स्थापना गरेको छ । यो बिहारलाई कुमारी घरको रुपमा पनि चिनिन्छ । दशैको १५ दिन जिउदो देवी कुमारी यसै स्थानमा रहेको कुमारी घरमा बस्दछ ।
लेख: GR Ranjit


