स्वयम्भू – Swayambhu (सिंगुँ)
परापुर्वकालमा नेपाल मण्डल एक दह थियो । जसको नाम “नागदह” थियो । बिपस्वी बुद्ध आएर तीनपल्ट वरिपरीको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसि तपस्या गरेका थिए । त्यसपछि बैशाख पूर्णिमाको दिन कमलको बीउ दक्षिण फर्कि मन्त्र गरी दहमा रोपेका थिए । जसले गर्दा दहको बिचमा एक सुन्दर कमलको फूल फुले जुन एकदम सुन्दर तथा बिचित्रका थिए । यस कमलको फूलबाट निस्केको प्रकाश देख्दा मानौ स्वर्गबाट निस्केको प्रकाश जस्तो लाग्थ्यो । यो दृश्य हेर्नेहरुको घुइचो नै लाग्ने गर्थ्यो । यो एक त्रेतायुग मै सृष्टि भएको स्वयम्भूनाथको अलौकिक शक्ति थियो । तथागत बिश्वभू आएपछि महामञ्जुश्री तिब्बतको ल्हासाबाट करिब ५००० जना शिष्य सहित सुरुङ्ग मार्ग भै नेपाल आएका थिए । नेपाल पुगेर एक रात ल्हासापाको मै बिताउनु भयो । त्यहाँबाट हालको चोभारमा गई उहाँले आफ्नो चन्द्रहाँस खड्कले चोभारको डाँडो काटेर सम्पुर्ण पानी बाहिर पठाए । जुन कमलको फूल बिस्तारै पश्चिम तिर सर्दै हालको स्वयम्भूमा गै स्थापित भए । तसर्थ स्वयम्भू नै नेपाल मण्डलको पहिलो भू स्थान हो । स्वयम्भू भन्नाले “स्वयम” र “भू” मिलेर स्वयम्भू भएको हो जस्को अर्थ स्वयम् सृष्टि भएको भूमी हो । यसरी सृष्टि भएको भूमिको नाम मञ्जुपाटन रहन गयो भने धर्माकर भन्ने ब्यक्तिलाई पहिलो राजा बनाए । यसरी आफु पनि स्वयम्भूको पश्चिम दिशामा अबस्थित हुनु भयो । स्वयम्भूलाई नेपाल भाषामा “सिंगुँ” भनिन्छ जसको अर्थ “सिंगुली या गुँ” हो । “सिंगुली” भन्ने एक प्रकारको जंगलमा पाइने फल हो भने “गुँ” को अर्थ जंगल हो । यसै स्वयम्भूनाथको विशाल चैत्य संगै हारती अजिमाको मन्दिर पनि रहेको छ । हारती अजिमा भन्नाले माता, आमा, जननीको प्रतीक हो । आफ्नो सन्तानहरुको लालनपालन गर्ने, रक्षा गर्ने, सु-स्वास्थ्यको कामना गर्ने देवी नै हारती अजिमा हुन । हारती अजिमालाई स्वयम्भू अजिमा वा अजिमा द्य: पनि भन्ने गरिन्छ ।
लेख: GR Ranjit
फोटो: Sureshraj Shakya


