धर्मधातु चैत्य (बंशगोपाल)
भक्तपुर नगर भित्र पनि बौद्ध संरचनाहरु आज सम्म जिवित अवस्थामा रहेका छन । कति संरचनाहरु मासेर गएपनि केही भने आज सम्म जिवित अवस्थामा रहेको छ । बौद्ध संरचनाहरुमा बह (बहाल), वहि (विहार), चैत्य (चिवद्य:), थुर, आदि हुन । चैत्य नेवा समाजमा सबैभन्दा धेरै रहेको बौद्ध सम्पदा हो । हरेक टोलमा ५-१० वटा चैत्यहरु हुने गर्दछ । चैत्यहरु पनि विभिन्न प्रकारका हुने गर्दछ । १. बज्रधातु चैत्य २. धर्मधातु चैत्य ३. खम्बा चैत्य ४. मृण्मय चैत्य आदि । यस मध्य धर्मधातु चैत्य सबैभन्दा धेरै स्थानमा रहेको चैत्य हो । सानो धर्मधातु चैत्य देखि ठूला धर्मधातु चैत्यहरु पनि पाइन्छ । जसमध्ये भक्तपुर नपा वडा नं ३, बंशगोपालमा अवस्थित धर्मधातु चैत्य भक्तपुर जिल्ला कै सबैभन्दा ठूलो धर्मधातु चैत्य हो । करिव १७० बर्ष पुरानो उक्त चैत्यको उचाई १२ फिट र लम्बाई र चौडाई १० फिट रहेको छ । “धिज पुं” नामक एक चित्रकार थरका ब्यक्तिले बनाएको उक्त चैत्य बनाउने क्रममै उहाँ वसफल दिवंगत हुनु भएका कारण यस चैत्यमा रहेका आर्यतारा भगवानको प्राण प्रतिस्था पूजा गर्न पाएन ।
चैत्य पुर्ण रुपले सकेपनि प्राण प्रतिस्था पूजा नभएको कारण यो चैत्य केवल शिलाका रुपमा मात्र रहे । यसमा कसैले पनि पूजा भने गरेनन । शिला कै रुपमा मात्र रहेको कारण प्राय स्थानियहरुको ध्यान जान सकेन र यसमा रहेका आर्यताराहरुको मूर्तीहरु चोरी हुन्दा समेत सर्वसाधारणहरुले चाल नै पाउन सकेन । २०७२ सालको महाभूकम्पमा संगै रहेको बंशीगोपाल भजन मण्डल भत्केर यस चैत्यमा क्षति हुन पुगेको थियो । २०८० सालमा श्री तीर्थराज बज्राचार्यको संयोजकत्वमा ख्वप देशहना चित्रकार गुठीको सहयोगमा यस चैत्यको जिर्णोद्वार कार्य सम्पन्न भएको छ ।
२०८० असोज २७ गते शनिबार यस चैत्यको पूजा हुन गैरहेको छ भने २०८० कार्तिक ११ गते कोजाग्रत पूर्णिमाका दिन पनि चैत्य पूजा हुन गैरहेको हुनाले यस पुण्य कार्यमा सम्पुर्णमा उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौं ।
लेख: GR Ranjit


