बज्रयोगिनी (Bajrayogini)
वंशालीमा उल्लेख भए अनुसार कलिगत सम्बत १८०१ तिर बज्रयोगिनीको आज्ञा अनुसार जोगदेव बज्राचार्यको तत्वाधानमा काठमाडौँ जिल्लाको उत्तरी भेगमा दाहिने शंख आकारको साँखु नगर स्थापना भएको थियो । यस नगरमा पर्ने मणिचुड पर्वतको दुई पहराको विचमा देवी स्थापना गरी निर्माण गरिएको मन्दिर भगवान बुद्धको तपस्याबाट प्रसन्न भई प्रस्तरह रूपमा प्रकट भएकी पार्वती नै बज्रयोगिनी हुन भन्ने आख्यान पाइन्छ । यस देवीको पूजा बौद्ध र हिन्दु परम्परानुसार गरिन्छ । बज्रयोगिनी मन्दिर एउटा तान्त्रिक मन्दिर हो । यसलाई बोधिसत्वको मन्दिर पनि भनिन्छ । यस देवीको मुख्य मन्दिर सोह्रौं शताब्दीमा राजा प्रताप मल्लले बनाएका थिए । यस देवीको मुर्तिको दाँया सिंहीनी र बाँया बगिनी देवीको मूर्तिहरु आसिन छ । मन्दिरमा बज्रयोगिनी संगै उग्रताराको मूर्ति पनि देख्न सकिन्छ ।बज्रयोगिनी मूर्ति उत्पत्तिको विषयमा धार्मिक ग्रन्थमा लेखिए अनुसार पृथ्वीमा भर्खर भर्खर हिम युग शुरु भएको थियो । हाल मन्दिर रहेको यो स्थानमा ढुंगाको कापबाट पाँच रंगको आगोको ज्वाला उत्पन्न भयो । त्यहि आगोको ज्वालाबाट कालान्तरमा ज्वालामुखी देवी उत्पत्ति भइन् । यीनै देवी बज्रयोगिनीको रुपमा प्रसिद्ध भइन् । यस मन्दिर परिसरमा ९ वटा ढुंगेयुग कालीन गुफाहरु रहेका छन् । ती मध्ये एउटा गुफालाई पाप धर्मको गुफा पनि भनिन्छ ।
लेख: GR Ranjit


